पार्टीको काठमाडौं अधिवेशनमा ओली : नेताले कसैलाई बोकेको भए भुइँमा राख्नुस्

२६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्ला कमिटीको अध्यक्ष चयनमा सकेसम्म चुनाव नगर्न आग्रह गरेका छन् ।
शनिबार जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले प्रतिस्पर्धा गर्ने हो भने कुनै पनि उम्मेदवारलाई नबोक्न नेताहरुलाई आग्रह गरेका छन् ।
‘स्वस्थ प्रतिस्पर्धा नहुने, एक जनाले अर्को बोक्ने, अर्काले अर्को बोक्ने अनि नेताले प्रेस्टिज इस्यु बनाएर एउटालाई ढाल्नुपर्ने, अर्कोलाई उठाउनुपर्ने यो खालको कुराले पार्टीमा राम्रो गर्दैन’, उनले भने, ‘त्यसकारण कृपया नेताहरु कोही बोक्नुभएको छ भने बालक कोही छैन, भुइँमा राख्नुस्, काँधमा बोक्नुपर्दैन ।’
नेताले आपसमा मिलाउनुपर्ने भन्दै उनले प्रतिस्पर्धा गर्ने हो भने कार्यकर्तालाई भोट हाल्न दिनुपर्ने बताए । ‘मिलाउनुहुन्छ भने नेताहरुले मिलाए हुन्छ, प्रतिस्पर्धा गर्ने हो भने भोट हाल्न कार्यकर्तालाई दिनुस् अरु कुरा नगर्नुस्’, उनले भने ।
पार्टीमा काममा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै उनले मतपेटिकामा मात्र प्रतिस्पर्धा गर्न उचित नहुने बताए । ‘बाकसमा, ब्यालेटमा प्रतिस्पर्धा गरेर हुन्छ ? काममा प्रतिस्पर्धा, विचारमा प्रतिस्पर्धा, सक्रियतामा प्रतिस्पर्धा, शैलीमा प्रतिस्पर्धा, ती सबै कुरामा प्रतिस्पर्धा गर्नुपर्यो’, ओलीले भने, ‘कतिपय ठाउँमा प्रतिस्पर्धाका नाउँमा गलत प्रवृत्ति देखिएका छन् ।’
पार्टीमा आफूले सोचेजसरी नयाँ नेतृत्व पैदा हुन नसकेको ओलीले बताए । हरेक कमिटीबाट नयाँ नेतृत्व उम्रेर आइरहनुपर्ने भन्दै उनले कसलाई बनाउँ भनेर खोजी गर्दा राम्रो मान्छे पाउन मुश्किल भएको टिप्पणी गरे ।
काठमाडौंको अध्यक्ष को हुनुपर्छ आफूले नभन्ने भन्दै ओलीले अध्यक्षको कुर्सीमा जो बसे पनि हुन्छ भन्ने पनि नसोच्न आग्रह गरे । ‘यो कुनै भावावेशको कुरा होइन, मैले धेरै केही भनिरहनुपर्लाजस्तो लाग्दैन । तपाईंहरुले एउटा मूल्यांकन गरिसक्नुभएको छ, एउटा अठोट गरिसक्नुभएको छ, कसले पार्टी चलाउन सक्छ, कसलाई नेतृत्व दिनुपर्छ तपाईहरुले बुझ्नुभएको छ’, उनले भने ।
जति जना प्रतिस्पर्धा गरे पनि एक जनाले जित्ने भन्दै ओलीले जितिन्न भन्ने थाहा पाउँदापाउँदै चुनावमा किन उठ्ने भनेर प्रश्न गरे । ‘चुनावमा उठेर, लडेर त्यहाँ फ्याक बनाएर मन चाहिँ मिलेको छैन हाम्रो भनेर, किन नमिलाउने मन केले रोकेकेको छ मन मिलाउन ?’ ओलीले प्रश्न गरे ।
लोकतान्त्रिक पद्धतिका नाममा चुनाव लड्नु बेठीक भएको उनले बताए । ‘नीति एउटै हो, एउटै उद्देश्य, एउटै गन्तव्यमा हामी हिँडेका छौं भने सबैलाई उठ्नु नपर्ने एक दुई जनालाई नउठी नहुने किन ?’ उनले प्रश्न गरे, ‘डेमोक्रेसी १/२ जनालाई मात्र अपरिहार्य, नभई नभएको किन ?’
आपसमा मिल्दै नमिल्ने हो भने चुनाव लड्न आग्रह गर्दै ओलीले भने, ‘चुनाव लड्नुहुन्छ भने व्यक्तिको सिंङ फुकाल्नुस्, ठीक छ तर संगठनलाई नोक्सान नपार्नुस् ।’
पार्टीभित्र अप्ठेरो पारेकै कारणले आफूले संसद विघटन गरेको जिकिर गर्दै उनले संसद विघटन नगरेको भए अहिले एमाले भन्ने पार्टी नरहने बताए । ‘त्यतिबेला संसद विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउँदैनथ्यौं । यो अन्तै लगेर बुझाइसकेका हुन्थे ।’
काठमाडौं जिल्ला लाल किल्ला
अघिल्लो चुनावमा स्थानीय तह, प्रदेश र संघीय चुनावमा एमाले पराजित भएको स्मरण गर्दै ओलीले २०८४ को चुनावमा काठमाडौंलाई लाल किल्ला बनाउने बताए ।
‘आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला । यो कुरा सबैले कान खोलेर सुने हुन्छ, आफ्नो आफ्नो तयारी गरे हुन्छ, मोर्चा कसे हुन्छ, कम्मर कसे हुन्छ, घुँडा धसे हुन्छ, एमालेले पछार्छ पछार्छ’, उनले भने ।
ओलीले एमालेका नेता कार्यकर्तालाई मुख्य रुपमा राजनीति र संगठनमा ध्यान दिन आग्रह गर्दै चुनावको तयारीमा लाग्न निर्देशन दिए । ‘वडा तहदेखि केन्द्रीय तहसम्म एमालेको नीतिमा देश चल्नुपर्छ, अनि मात्र देश बन्छ । धेरैको गज्याङमज्याङ नीतिले देश बन्ने होइन’, उनले भने ।
एमालेमा सामन्तवाद छैन
ओलीले पार्टीभित्र सामन्तवाद र पुँजीवाद नरहेको बताए । पार्टीमा एमाले अध्यक्ष ओलीको व्यवहारलाई लिएर बेला बेलामा प्रश्न उठिरहेका बेला उनले एमालेमा सामन्तवाद र पुँजीवादको अवशेष नरहेको बरु माक्र्सवादको झण्डा रहेको बताए ।
‘सामन्तवाद, पुजीवाद निम्न पुँजीवाद कुनै विचारबाट प्रभावित छैन, वैचारिक हिसाबमा व्यवहारिक रुपमा गाइडेड छैन, यसको अवशेष समाजमा छ, नेकपा एमालेमा छैन । सामन्तवाद, पुँजीवादको अवशेष छैन, मार्क्सवादको झण्डा छ’, उनले भने, ‘योसँग विकृत विचार छैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।