सन् २०४० सम्ममा दुई अर्ब बढी शहरी जनसंख्या उच्च गर्मीको मारमा पर्नसक्ने : यूएन रिपोर्ट
२१ कात्तिक, काठमाडौं । सन् २०४० सम्ममा विश्वभरको दुई अर्ब बढी शहरी जनसंख्याले कम्तिमा ०.५ डिग्री सेल्सियस अतिरिक्त गर्मीको सामना गर्नुपर्ने प्रक्षेपण सार्वजनिक भएको छ ।
पर्यावरण मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघको एजेन्सी यूएन–ह्याबिट्याटले यो रिपोर्ट सार्वजनिक गरेको हो । यूएन–ह्याबिट्याटका कार्यकारी निर्देशक एनाक्लोडिया रोसबाखले भनेका छन, ‘शहरका कुनै पनि बासिन्दाले अतिरिक्त तापमान वृद्धिको मारबाट मुक्ति पाउने छैनन् ।’
रिपोर्टका अनुसार अर्बौंको शहरी जनसंख्याले गर्मीको सामना गर्नुपर्ने वा बाढी जस्ता प्रकोपबाट जुझ्नुपर्ने छ ।
गर्मीका असरबाट जोगिनका लागि आवश्यक बजेट र अहिले उपलब्ध बजेटबीचको अन्तर निकै धेरै छ । शहरमा साढे चार हजार अर्ब डलरदेखि लिएर पाँच हजार ४०० अर्ब डलर लगानीको आवश्यकता छ ताकि जलवायु परिवर्तनका असरको सामना गर्न सकियोस् । तर हाल ८३१ अर्ब डलर मात्र उपलब्ध छ, जुन आवश्यकताभन्दा निकै कम रकम हो ।
यूएन–ह्याबिट्याटका कार्यकारी निर्देशक एनाक्लोडिया रोसबाखले जलवायु परिवर्तनका असर बढिरहेको तुलनामा त्यसबाट हुने जोखिमबाट जुध्ने उपायका काम पर्याप्त हुन सकेको छैन ।
उनले भनेका छन्, ‘जलवायु परिवर्तनको बढी प्रभाव अस्थायी बस्ती, झुपडी र पर्यावरणको दृष्टिले संवेदनशील क्षेत्रमा पर्दछ । त्यहाँ जलवायु अनुकूलन भौतिक पूर्वाधारको अभाव हुन्छ र विपद्को सामना गर्नुपर्ने हुन्छ । ती क्षेत्रका बासिन्दाले सहयोग पनि कम पाउने गरेका छन् ।’ त्यसैले त्यस्ता संवेदनशील क्षेत्रका बासिन्दाको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
अव्यवस्थित तरिकाले शहरी क्षेत्र विस्तार हुँदै गएकाले हरियाली नास हुँदै आएको छ । सन् १९९० मा शहरी क्षेत्रमा हरितस्थलको हिस्सा औसतमा १९.५ प्रतिशत थियो तर सन् २०२० मा घटेर १३.९ प्रतिशत कायम भएको थियो । यस्तो स्थिति आउनु चिन्ताजनक भएको यूएन–ह्याबिटाटले जनाएको छ ।
हरियाली बढाउने नाममा यदि कुनै ठाउँमा पार्क बनाइयो भने त्यहाँबाट निर्धन घरपरिवार विस्थापित हुन बाध्य हुन्छ र जग्गाको मूल्य समेत बढ्ने हुँदा उसले घर बनाएर बस्न समेत सक्दैन । त्यसैले गरिब परिवारको जीवनयापन कठिन हुने गरेको छ ।
जलवायु परिवर्तनको गहिरिँदो असरसँगै शहरी गरिबले झन् बढी समस्या भोग्नु परिरहेको छ । त्यसैले विज्ञहरुले त्यस्ता क्षेत्रका समस्या पहिल्याने मात्र नभई समस्या समाधानका उपायमा पनि जोड दिने गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रतिवेदनको प्रस्तावनामा लेखेका छन् शहरमा हरितगृह ग्याँस उत्सर्जन कटौती गर्न, जलवायु परिवर्तनको प्रभावसँग अनुकूलन गर्न र शहरी जनसंख्याका लागि दिगो सहयोग सुनिश्चित गर्न महत्वपूर्ण हुने बताएका छन् । त्यसका लागि ठूलो लगानी, प्रभावकारी योजना र डिजाइन आवश्यकता छ ।
उनले भनेका छन्– जलवायु परिवर्तनको असरबाट जोगिन सयौं शहरहरुमा हरियाली बढाउने, हरितगृह ग्याँस उत्सर्जनमा कटौती गर्ने र यातायातका साधनमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने काम भइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।