यस्तो देखियो ‘घरज्वाइँ’को काठमाडौं प्रिमियर (तस्वीर)

काठमाडौं । शुक्रबार रिलिज तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को काठमाडौं प्रिमियर गरिएको छ । मंगलबार बेलुका बिग मुभिजमा आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी सहभागी रहे ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानासहित राजनीतिक दलका नेता र कलाकार पनि प्रिमियरमा देखिए । स्क्रिनिङपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले फिल्मको कथावस्तु र अभिनय पक्षको प्रशंसा गरे ।
अनिल बुढा निर्देशित फिल्मले मगर समुदायमा ‘घरज्वाइँ’ राख्ने परम्पराको कथा भन्छ । यसअघि डकुमेन्ट्री ‘आग्रे’ निर्देशन गरेका बुढाको यो डेब्यु निर्देशकीय फिचर हो । पूर्वीरुकुमको मगर गाउँ तकसेरामा सेट गरिएको फिल्मले घरज्वाइँको परम्परालाई दर्शकसामु प्रस्तुत गर्छ ।
‘फेसबुकमा आइलभ यु भन्दैमा प्रेम हुने होइन । घाँस काट्दै, दाउरा काट्दै र काम गर्दैमा पनि प्रेम हुन्छ । यो फिल्मले प्रेमको यो पक्षलाई गहन ढंगले प्रस्तुत गरेको छ,’ फिल्म हेरेपछि उपसभामुख रानाले भनिन् ।
‘मगर समुदायमा एक भएर बस्ने परम्परालाई हामीले फिल्म सिक्नुपर्छ जस्तो लाग्छ,’ उनले भनिन् ।
अभिनेता दयाहाङ राईले संस्कृतिमाथि आफ्नो चासो रहेको बताए । ‘हरेक संस्कृतिलाई मेरो क्षमताले भ्याएसम्म बुझ्ने कोसिस गर्छु,’ उनले भने, ‘मेनस्ट्रिममा आउनैपर्ने कथा यसमा आइपुगेको छ ।’
समारोहमा मगर पहिरनमा देखिएकी अभिनेत्री मिरुना मगरले छायांकनको क्रममा भलिबल सिक्दाको सम्झना गरिन् । ‘मेरो बुवा पनि व्यवसायिक रुपमै भलिबल खेलाडी हुनुहुन्थ्यो,’ फिल्ममा भलिबल खेल्ने चरित्रको प्रश्नमा उनले भनिन् ।
अभिनेता कुन्साङ बमजमले धेरै पहिलेदेखि ‘घरज्वाइँ’ हेर्ने पर्खाइमा आफू रहेको बताए । बमजमले फिल्मको प्राविधिक पक्षको प्रशंसा गरे । अभिनेता शिशिर बाङ्देलले कथा सुनेदेखि नै आफू भावुक बनेको प्रतिक्रिया दिए ।
दयाहाङ र मिरुनाले सँगै काम गरेको यो छैटौं फिल्म हो । यसमा उनीहरुले मगर समुदायको दम्पतीको भूमिका निर्वाह गरेका छन् । जनक घर्तीले निर्माण गरेको यो फिल्म शुक्रबारदेखि नेपालसहित केही मुलुकमा समेत प्रदर्शन तयारी छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
– यस समाचारको श्रोत : Online Khabar हो ।