सलोनको ‘युनिभर्सिटीज अफ गुण्डाज’लाई सौरभले निर्देशन गर्न लागेका हुन् ?

काठमाडौं । घोषणा गरेदेखि नै सलोन बस्नेत र सलिनमान बनियाको फिल्म ‘युनिभर्सिटीज अफ गुण्डाज’ चर्चामा छ । युवापुस्तामा रुचाइएका यी र्दु कलाकार यो फिल्म निर्माणको तयारीमा छन् ।
निर्देशक बिनै सलोनले आफ्नो जन्मदिनमा प्रोजेक्ट घोषणा गरेका थिए । उनीसँगै ‘ए मेरो हजुर २’ को-स्टार समेत रहेका बनियाँको मुख्य भूमिका यसमा हुने पक्कापक्की थियो ।
निर्देशक तय नहुँदा यो प्रोजेक्टको भविष्य के हुने भन्ने अन्यौल थियो । यतिबेला भने, फिल्मले निर्देशक पाएको अनुमान छ । यसको अर्थ, निर्देशकसँगै फिल्मको छायांकन अघि बढ्ने अनुमान छ ।
यसअघि सलोन निकट निर्देशक हेमराज बीसी निर्देशकको रुपमा चर्चामा थिए । तर, उनी अमेरिका लागेपछि को निर्देशक हुने भन्ने अन्योल रह्यो । यतिबेला भने सलोनका बुवा तथा फिल्म निर्माता शोभितले सलोन, सलिन र निर्देशक सौरभ चौधरीको संयुक्त फोटो सेयर गर्दै यसबारे संकेत दिएका छन् ।
‘अगस्त्य’ फेम्ड सौरभ चौधरीले फिल्मको निर्देशन गर्ने सहमति जुटेको जनाइएको छ । यद्यपि, लिखित सम्झौता हुन बाँकी छ । शुक्रबार सलोन र सलिनसहित निर्देशक शोभित बस्नेतले सौरभसँग छलफल गरेको जनाइएको छ ।
सौरभले पनि फिल्म निर्देशन गर्ने मौखिक सहमति भएको जनाएका छन् । तर, यो फिल्मभन्दा अघि उनले अर्को फिल्म बनाउने सम्भावना छ । यतिबेला उनी त्यसैको तयारीमा छन् ।
यो फिल्मबाट सलिन ६ वर्षपछि कमब्याक तयारीमा छन् । युनिभर्सिटीमा हुने गुण्डागर्दीको विषयमा फिल्म बन्ने अनुमान छ । यसअघि सार्वजनिक टीजर पोस्टरमा सलिन र सलोन ‘एक्सन मुड’मा प्रस्तुत थिए । दुवैले अहिले फिल्मका लागि सुगठित शरिर बनाइरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।