सन्दीपको भिसामा सबै सहयोग गर्छौं : खेलकुद मन्त्री

१० जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा प्रक्रियामा सबै प्रकारको सहयोग गर्ने बताएका छन् ।
बिहीबार मन्त्री श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच लामिछानेको भिसाबारे कुराकानी भएको थियो ।
कुराकानीपछि मन्त्री श्रेष्ठले भने, ‘सन्दीपको भिसाको लागि हामीले मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेका छौं । अझै पनि सबै किसिमको सहयोग जारी राख्ने छौं ।’
युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लामिछानेको भिसाबारे आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको पनि श्रेष्ठले जानकारी दिएका छन् ।
बुधबार अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरू नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।
२ जेठमा उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका लामिछानेलाई त्यही दिन क्यानले निलम्बन फुकुवाको निर्णय गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।