सवार सबै यात्रु भेटिए, १६ जनालाई उपचारका लागि काठमाडौं पठाइयो

७ साउन, पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा गम्भीर घाइते बनेका १६ उपचारका लागि काठमाडौं पुर्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
दुर्घटनामा चालकसहित ४३ जना परेको र सबैको उद्धार भइसकेको गौतमले बताए । दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने बाँकीको अवस्था पनि अचेतावस्थामा रहेको गौतमको भनाइ छ ।
‘काठमाडौं उपचारका लागि लगिएका विरामीबाहेक १४ जना मृत घोषणा भइसकेको छ भने बाँकी १३ जनाको अवस्था पनि चिन्ताजनक छ, केही बेरमा अवस्था सार्वजनिक गर्छौं,’ सिडिओ गौतमले अनलाइनखबरसँग भने, ‘दुर्घटनाले ठूलो क्षति पुर्यायो ।’
पहिलो पटक १२ र पछिल्लो पटक ४ जना गरी १६ जनालाई थप उपचारका लागि काठमाडौं शिक्षण अस्प्ताल पठाइएको उनले जानकारी दिए ।
गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं हिँडेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मस्र्याङ्दी नदी किनारमा खसेको हो । यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थाननजिकै मस्र्याङ्दी नदीमा खसेको थियो । यात्रुहरुको एकीन विवरण तयार पार्ने प्रक्रिया चलिरहेको तनहुँको सिडिओ गौतमले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।