भावना बनिन् कौसी क्विन पोखरा

२८ माघ, काठमाडौं । भावना रानाभाटले कौसी क्विन पोखरा-२०८० को उपाधि जितेकी छिन् ।
पोखरा महानगरले आयोजना गरेको प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
विजेता रानाभाट वडास्तरीय कृषि सञ्जाल पोखरा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै १५ हजार रुपैयाँ, कौसी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन् ।
प्रतियोगितामा पोखरा ७ की हरिकुमारी श्रेष्ठ उपविजेता भएकी छन् । यस्तै पोखरा ८ की कान्तिकुमारी अधिकारी तेस्रो र पोखरा १७ की गायत्री अर्याल सान्त्वना भइन् । उनीहरूले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ हात पारे ।
प्रतियोगितामा पोखरा महानगरभित्र कौसी खेतीमा संलग्न १९ जना कृषकहरूले भाग लिएका थिए ।
यस्तै शनिबार नै भएको वडास्तरीय कौसी बाली प्रतियोगितामा पोखरा वडा नं ८ प्रथम भएको छ । प्रतियोगितामा कृषि सञ्जाल पोखरा १७ दोस्रो, पोखरा ७ तेस्रो र पोखरा ९ सान्त्वना भएका छन् ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कौसी करेसा खेतीमा संलग्न कृषकहरूको हौसलाका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले पोखरा नगर क्षेत्रमा कौसी करेसा खेती गर्ने कृषकहरूका लागि मल, बीउ र तालिम लगायत उपलब्ध गराउँदै आएको बताए ।
प्रतियोगितामा विजेताहरूलाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख धनराज आचार्यले तरकारीको आयातलाई प्रतिस्थापन गर्न यस प्रकारको गतिविधि निकै प्रभावकारी हुने दाबी गरे ।
पोखरा महानगरपालिकाको शहरी वडाका करिब ३० हजार घरधुरीमा कौसी खेती गरिंदै आइएको मेयर आचार्यले जानकारी दिए । ‘यसले ३० हजार परिवारलाई विशेष परिस्थिति बाहेकको अवस्थामा तरकारीमा आत्मनिर्भर बनाएको छ नै अर्ग्यानिक उत्पादनको प्रयोगले स्वास्थ्यमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ’, उनले भने ।
कृषिजन्य उत्पादनमा महानगरपालिकालाई आत्मनिर्भर बनाउने कार्यमा कृषकहरूको उल्लेखनीय भूमिका रहने बताउँदै उनले कृषियोग्य भूमिलाई बाँझो नराख्न र सम्भव भएसम्म कौसी र करेसाहरूमा समेत तरकारी लगाउन आग्रह गरे ।
महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कौसी करेसा खेतीले पोखराको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुगेको बताइन् ।
क्लिन सिटी ग्रिन सिटीको अवधारणालाई सार्थक बनाउन कौसी करेसा कृषकहरूको भूमिका उल्लेखनीय रहने उनको भनाइ थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।