२ वर्षको छोरा छाडेर क्यानडा, फर्केकै दिन दम्पत्ति नै मृत भेटिए

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा मृत भेटिएका दम्पत्तिको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पताल पठाइएको छ ।
प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको हो । मृत भेटिएका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमतीको शव मृतक रमेशका बाबुआमा आइपुगेपछि उठाएर पोष्टमार्टमका लागि पठाइएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । यद्यपी पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेको हुनाले यसको पुष्टि हुन बाँकी नै रहेको छ ।
सुनसरीबाट काठमाडौं आइपुगेका बाबुआमालाई समेत उनीहरू नेपाल आएको भन्ने जानकारी नरहेको अनुसन्धानबाट खुलेको छ । छोरा–बुहारीले आफूहरू नेपाल आउनका लागेको भन्ने केही जानकारी नगराएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।
मृतक दम्पतीले २ वर्षअघि सन् २०२२ मा क्यानडा जाँदा २ वर्षीय छोरा बाबुआमाको साथमा सुनसरीमै छाडेर गएको खुलेको छ । सुनसरीबाट मृतकका बाबुआमा आउँदा उनीहरूले नाती समेत काठमाडौं लिएर आएका थिए । मृतक दम्पतीका ती छोरा अहिले ४ वर्षका छन् । घटनास्थलमा कुनै सुसाइड नोट समेत फेला नपरेकाले घटनाको यकिन कारण भने खुल्न सकेको छैन ।
मृत फेला परेको जानकारी पाउनासाथ अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । त्यसपछि प्रहरीले फरेन्सिक विज्ञसहितको टोली झिकाएर अनुसन्धान सुरु गरेको थियो । आफन्त आएपछि शव पठाएर पोष्टमार्टमका लागि पठाइएको हो ।
सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको पाँच तले घर खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–४ का रामजी कटुवालले भाडामा लिएर होटल चलाएका थिए ।
काँडाघारी बस्ने कटुवालले जन्मभूमि नामको होटल सञ्चालन गरेका थिए । उक्त होटलमा शनिबार साँझ पौन ७ बजेको समयमा उनीहरू पुगेका थिए । होटलको चौथो तलाको १२० नम्बर कोठा बुक गरेर उनीहरू बसेका थिए ।
होटलको रजिस्ट्रेशन बुकमा रमेशको नाममा कोठा बुक भएको थियो । होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरू मृत भेटिएका थिए ।
सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा दुवै जनाको शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
उनीहरू झुण्डिएको अवस्थामा मृत भेटिएको भन्दै आइतबार बिहान साढे ७ बजेतिर प्रहरीलाई खबर आएको थियो । प्रहरी घटनास्थल गएर अनुसन्धान गर्दा उनीहरू शनिबार मात्रै क्यानडाबाट काठमाडौं फर्केको खुलेको थियो ।
एक अनुसन्धान अधिकृतका अनुसार घटनास्थलबाट बरामद भएको पासपोर्टबाट समेत उक्त कुरा पुष्टि हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।