सही लगानी गर्न पोर्टफोलियो म्यानेजमेन्ट सेवा : कति लाग्छ शुल्क, के छन् फाइदा ?
१४ कात्तिक, काठमाडौं । लगानीकर्ता खगेन्द्र पन्थीले करिब एक वर्षदेखि मर्चेन्ट बैंकमार्फत पोर्टफोलियो म्यानेजमेन्ट सेवा (पीएमएस) लिँदै आइरहेका छन् ।
उनले एक वर्षको अवधिमा आफ्नो लगानीबाट पीएमएस सेवा शुल्कबाहेक खुद १८ प्रतिशत नाफा लिइसके । उनी यो नाफाबाट खुसी छन् । ‘आफैले पनि छुट्टै रुपमा सेयर किनबेच गर्छु, तर मर्चेन्ट बैंकबाट केही ठूलो लगानीको सेवा लिँदा आफूले गरेको कारोबारभन्दा बढी नै प्रतिफल पाएको छु’ उनले भने ।
आफूले कारोबार गर्दा बजार घटेका बेला सस्तो मूल्यमा किन्न पनि डर लाग्ने गरेको र बढेका बेला पनि लोभ लागेर बेच्न नसक्ने अवस्था आउने गरेको अनुभव उनी सुनाउँछन् ।
‘बजार न्यूनतम विन्दुमा आएका बेला किन्न पनि नसकिने र बढेका बेला पनि बेच्न नसक्दा मैले आफूले गरेको कारोबारबाट उचित नाफा बुक गर्न सकेकै छैन’ उनले भने ‘तर मर्चेन्ट बैंकले गरिदिँदा राम्रै भएजस्तो लागेको छ ।’
उनीजस्तै यसरी पीएमएस लिने लगानीकर्ताको कुल संख्या जम्मा ७ हजार हाराहारी छ । यो संख्या कुल लगानीकर्ताको तुलनामा ज्यादै न्यून हो । हाल दोस्रो बजारमा नियमित कारोबार गर्नेहरू करिब २० लाख छन् । उनीहरुमध्ये पीएमएस लिनेहरू जम्मा ०.४ प्रतिशत मात्रै हो ।
नेपालमा सञ्चालनमा रहेका मर्चेन्ट बैंकहरूले पीएमएस सेवा दिँदै आएका छन् । हालसम्म नेपाल धितोपत्र बोर्डबाट इजाजत पाएका मर्चेन्ट बैंकको संख्या ३० पुगेको छ । सेयर बजारमा लगानी गर्न चाहने, लगानीका लागि ज्ञान नभएका, सही रुपमा आफैले कारोबार गर्न नसक्नेका लागि पोर्टफोलियो म्यानेजमेन्ट सेवा उपयुक्त छ।
नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीहरुको वित्तीय विश्लेषण गरी ग्राहकलाई जानकारी दिने, परामर्श दिने, लगानी किनबेचको अवस्थाबारे नियमित रुपमा ग्राहकलाई जानकारी गराउने वा लगानीकर्ताको पोर्टफोलियो पूर्ण रुपमा जिम्मा लिएर सही रुपमा किनबेच गरिदिने कार्य पोर्टफोलियो म्यानेजरले गर्दै आएका छन् ।
ग्राहकको नाममा सुरक्षित तरिकाले किनबेच गरिदिने, कम्पनीबाट आउने लाभांश संकलन गरिदिने काम म्यानेजरले गर्छन् । मुख्यतः म्यानेजरले दुई किसिमबाट लगानी व्यवस्थापन सेवा दिन्छन् । एउटा स्वेच्छिक (डिस्क्रिस्नरी) र अर्को गैरस्वेच्छिक (ननडिस्क्रिस्नरी) ।
स्वेच्छिकअन्तर्गत पोर्टफोलियो म्यानेजमेन्ट कम्पनीहरुले स्वेच्छिक रुपमै धितोपत्रमा कारोबार गरिदिन्छन् । यहीं सेवा धेरैले लिने गर्छन् । गैरस्वेच्छिकअन्तर्गत भने ग्राहकको आदेशबमोजिम मात्र खरिदबिक्री गरिदिन्छन् ।
डिस्क्रिस्नरीअन्तर्गत नगद वा आफूसँग भएको सेयरको पछिल्लो मूल्य वा दुवै जोडेर न्यूनतम ३ लाख बराबर सम्पत्ति भएपछि पोर्टफोलियो म्यानेजमेन्ट कम्पनीलाई हस्तान्तरण गरी सेवा लिन सकिन्छ ।
कम्पनीहरुले विभिन्न स्किमअनुसार न्यूनतम लगानी ५ लाख वा १० पनि तोकेका हुन्छन् । अधिकतममा भने कुनै सीमा छैन, जति रकमको पनि सेवा लिन सकिन्छ ।
धेरै नाफा खोज्ने र जोखिम पनि खोज्नेका लागि ‘ग्रोथ’ स्किम उपयुक्त हुन्छ । तर जोखिम नलिने र नाफा पनि न्यून चाहनेलाई भने ‘भ्यालुएबल’ स्किम उपयुक्त हुन्छ । कुनै स्किममा वार्षिक निश्चित प्रतिशतको प्रतिफल समेत सुनिश्चित गरिदिन्छन् ।
पोर्टफोलियो म्यानेजमेन्ट सेवा लिन चाहनेले मर्चेन्ट बैंकसँग सुरुमै लगानीबारे एउटा सम्झौता गर्छन् । सो सम्झौतामा कम्पनीले लिने शुल्क तथा शर्तहरु स्पष्टसँग उल्लेख गरिएका हुन्छन् । लगानीकर्ताको बैंक तथा डिम्याट खाता कम्पनी (मर्चेन्ट बैंक)ले व्यवस्थापन गरिदिन्छन् ।
पछिल्लो समय पोर्टफोलियो म्यानेजमेन्ट सेवा लिनेहरु बढ्दै गएको लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बताउँछन् । ‘अहिले हामीसँग करिब ३ सयले यो सेवा लिइरहेका छन्, उहाँहरुको करिब ७० करोड रुपैयाँ बराबरको पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेका छौं’ उनले भने ।
पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिएवापत म्यानेजरले लगानीको ०.२५ देखि १ प्रतिशतसम्मको वार्षिक शुल्क लिने गरेका छन् । ठूलो रकमको पोर्टफोलियो म्यानेजमेन्टमा न्यून र थोरै रकमकोमा केही बढी लाग्ने गर्छ ।
यदि ५ लाखको पोर्टफोलियो म्यानेजमेन्ट सुरु गर्ने हो भने १ प्रतिशतका दरले वार्षिक ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । त्यसका अलवा वार्षिक रुपमा हुने नाफाबाट पनि केही शुल्क लिने गर्छन्, जुन शुल्क धेरै नै न्यून छ । १० प्रतिशतसम्मको नाफामा कुनै शुल्क लिइँदैन, त्यसमाथिको नाफाबाट केहीले १० त केहीले १५ प्रतिशतसम्म शुल्क लिने गरेका छन् ।
त्यसपछि ग्राहकले लिन सक्ने जोखिम, लगानीको उद्देश्य, लगानी अवधि लगायतका आधारमा कम्पनीहरुले उपयुक्त सेयर खरिद गरिदिन्छन् । स्वेच्छिकमा कम्पनीले ग्राहकलाई नसोधिकन कम्पनीका सेयर खरिदबिक्री गरिदिने अधिकार हुन्छ ।
पोर्टफोलियो सेवा लिइसकेपछि कम्पनीले ग्राहकको एउटा बैंक खाता खोलिदिन्छन्, त्यस्तै खरिद वा बिक्री भएका सेयर, किनबेच स्थिति जानकारी दिनका लागि वेबलिंकको युजरनेम र पासवर्ड प्रदान गर्दछन् । त्यहीं युजरनेम र पासवर्ड प्रयोग गरी सर्वसाधारणले आफ्नो नाममा भएको सेयर तथा किनबेच स्थिति हेर्न सक्छन् । कम्पनीहरुले मार्केटको स्थिति बुझिकन किनबेच गरिरहेका हुन्छन् ।
‘पोर्टफोलियो सेवा लिने बेला ग्राहकको चाहना बुझ्छौं, जोखिम लिने क्षमता, चाहेको नाफाको दर, लगानी अवधि लगायत विषमा जानकारी लिएपछि सोअनुसार कन्ट्रयाक गरी पोर्टफोलियो बनाउँछौं’ श्रेष्ठले भने ।
यसरी सम्झौतापछि पोर्टफोलियोको सबै जिम्मा म्यानेजरको हुन्छ, लगानीकर्ताको हुँदैन । तर म्यानेजरले किनबेच गरेको आफ्नो पोर्टफोलियो भने ग्राहकले हेर्न सक्छन् ।
ग्राहकलाई युजरनेम र पासवर्ड प्रदान गरी पोर्टफोलियो हेर्न सक्ने व्यवस्था हुन्छ । ‘कुन कुन कम्पनीमा म्यानेजरले सेयर खरिद गरिदिएको छ, कुन कुन बेचेको छ लगायतका सबै विवरण उहाँहरुले हेर्न सक्नुहुन्छ’ उनले भने ।
श्रेष्ठका अनुसार म्यानेजरले बजार घट्दो अवस्था देखेमा नाफा बुक गर्ने वा स्टप लस गरिदिन्छन् । त्यस्तै बढ्दो अवस्था आउँदा पुनः लगानी गरिदिने र नाफा पनि बुक गर्दै जान्छन् ।
पोर्टफोलियो म्यानेजमेन्ट सेवाबारे धेरैलाई जानकारी नहुँदा पनि प्रयोगकर्ताको संख्या नबढेको श्रेष्ठले बताए । ‘आफैले पोर्टफोलियो म्यानेजमेन्ट गर्दा जोखिम पनि बढी हुन्छ’ उनले भने ‘बजार बढ्दा लोभ बढी हुन सक्छ, नाफा बुक गर्न नसक्दा नोक्सानी सम्भावना हुन्छ ।’ सेयर बजारबारे राम्रै जानकार भए पनि पोर्टफोलियो म्यानेजमेन्टमार्फत गर्दा स्थिर प्रतिफलको सम्भावना भएको उनले बताए ।
त्यस्तै एनएमबी क्यापिटलबाट पीएमएस लिनेको संख्या ९० मात्रै रहेको सीईओ दिपेश वैद्यले जानकारी दिए । ‘उहाँहरुको करिब ७५ करोड रुपैयाँ बराबरको पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेका छौं’ उनले भने ।
नेपालमा पीएमएसबारे लगानीकर्तालाई धेरै जानकारी र ज्ञान नहुँदा पनि यो बढ्न नसकेको उनले बताए । लगानीकर्ता आफै स्पेकुलेसनमा रमाउने परिपाटी रहेकाले पीएमएसतिर आकर्षण बढ्न सकेको छैन । पीएमएस लिँदा राम्रा र उपयुक्त कम्पनीमा भरपर्दो लगानी हुने र त्यसमा जोखिम पनि कम हुने मर्चेन्ट बैंकका सीईओ बताउँछन् ।
पीएमएस गर्दाका फाइदाबारे लगानीकर्तामा प्रचार प्रसार भएमा र त्यसलाई व्यवहारिक रुपमा लगानीकर्ताले महसुस गरेपछि मात्रै यो बढ्न जाने वैद्य बताउँछन् । ‘क्रमिक रुपमा पीएमएस लिनेहरु बढेका त छन्, तर बजारमा जतिले कारोबार गर्छन्, त्यसको तुलनामा सेवा लिनेको संख्या धेरै न्यून हो ।’ बजारको विकास र विस्तार हुँदै जाँदा यो सेवा लिनेको संख्या बढ्दै जाने उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।