साताभर २ प्रतिशत घट्यो नेप्से, फाइनान्स मात्रै बढ्यो

७ असार, काठमाडौं । गत साता २११२ अंकमा रहेको सेयर बजार यो साता २०६८ अंकमा कायम भएको छ । एक साताको अवधिमा सेयर बजार ४४ अंक अर्थात् २.०८ प्रतिशतले घटेको छ ।
यो साता सोमबार सार्वजनिक विदा परेपछि ४ दिन मात्रै कारोबार भयो । पहिलो दिन आइतबार १७.०४ अंक घटेको बजार मंगलबार १८.७६ अंक घट्यो । बुधबार फेरि २.२७ अंक बढे पनि बिहीबार १०.४४ अंक घट्यो ।
बजार घट्दै जाँदा कारोबार रकम पनि केही घटेको देखिन्छ । आइतबार ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । मंगलबार ४ अर्ब ५ करोड, बुधबार ३ अर्ब ४० करोड तथा बिहीबार ३ अर्ब ८७ करोडको कारोबार भयो ।
यो साता बजारलाई मुख्यतः विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदनले बढी असर पार्यो । त्यो सुझाव मात्रै भएकाले कार्यान्वयन हुनेमा शंका छ । तर ठूला लगानीकर्ता/कारोबारीको मनोभावमा भने केही नकारात्मक असर पारेको देखिन्छ ।
सार्वजनिक सो प्रतिवेदनमा व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी उसलाई व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउनुपर्ने उल्लेख छ । यसो गर्दा धेरै नाफा गर्नेले ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन सक्छ ।
व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ । जुन हालको भन्दा साढे २ प्रतिशत विन्दु बढी हो ।
सबै सूचक घट्दा फाइनान्स बढ्यो
यो साता फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । केही सातादेखि नै बजारमा फाइनान्सको प्रदर्शन अब्बल देखिएको छ । जसले गर्दा यो समूहको सूचक १६ महिनाकै उच्चतम विन्दुमा पुगेको छ । यो सूचक हाल २३४० अंकमा पुगेको छ, जुन अंक १० फागुन २०७९ यताकै उच्च हो ।
पछिल्लो ७ महिनामा फाइनान्स सूचकको वृद्धिदर आक्रामक देखिएको छ । मंसिर ५ गते फाइनान्स समूहको सूचक १५८५ अंकमा थियो । त्यसयता ४७.६ प्रतिशतले यो सूचक बढिसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।