सामाजिक कथावस्तुको फिल्म ‘सतीदेवी’को तनहुँमा विशेष प्रदर्शन

काठमाडौं । लक्ष्मण सुवेदी निर्देशित सामाजिक कथावस्तुबारेको फिल्म ‘सतीदेवी’लाई तनहुँमा विशेष प्रदर्शन गरिएको छ । उक्त समारोहमा लमजुङको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले फिल्मलाई प्रदर्शनमा सघाउने प्रतिबद्धता जनाएका छन् ।
दमौलीको क्यूएफएक्स हलमा आयोजित प्रदर्शनमा मेयर पाण्डेले मौलिक कथामा बनेको फिल्मलाई सबैले सघाउनुपर्ने धारणा राखे । ‘मौलिक कला संस्कृति र कथालाई विश्वसामु पुर्याउनु सराहनीय कार्य हो । यसले माटोको सुगन्ध बोकेको छ,’ उनले भने, ‘यस्तो फिल्मलाई स्थानीय निकायले पनि मद्दत गर्नुपर्छ ।’
उनले यो फिल्मले उठान गरेको नारीको मुद्दा गहन र मननीय रहेको समेत बताए । कार्यक्रममा फिल्मको तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नम्बर ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय सिर्जनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठ लगायतलाई आभार पत्र प्रदान गरे ।
उक्त फिल्मलाई लमजुङको मध्यनेपाल नगरपालिकामा छायांकन गरिएको थियो । खैरेनीटारका स्थानीय मीनबहादुरले यो फिल्मले छोरा र छोरीबीचको विभेदको अन्त्य गर्न भूमिका खेल्ने बताएका थिए । केही दर्शकले फिल्ममा महिला संघर्षको कथाले आफूहरुलाई प्रेरणा दिएको धारणा राखेका थिए ।
यो फिल्मले गत महिना सौराहामा आयोजित दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट फिल्म र निर्देशन विधामा उत्कृष्ट भएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि यसलाई सरकारले सक्दो सहयोग गर्ने वचन दिएकी थिइन् ।
दिलासा क्रिएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया अमेरिकासँगको सहकार्यमा निर्माण गरेको यो फिल्म प्रदर्शन तयारीमा छ । दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्ममा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, सुजिता सिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायतको अभिनय छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।