Main

कूटनीतिक नियोग र विकास साझेदारहरुसँग प्रधानमन्त्रीले मागे सहयोग

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाखमा हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन्।

उनले सम्मेलनलाई सफल पार्न कूटनीतिक नियोग र विकास साझेदारहरूको भूमिका महत्वपूर्ण हुने बताए।

सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका हुन्।

‘लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौं,’ प्रधानमन्त्री दाहालले भनेका छन्।

संघीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै दाहालले सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

‘लगानी सम्मेलनको मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरूलगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ,’ उनले भने।

सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै दाहालले सम्मेलनको सफलता सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिएको जानकारी दिए।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button