आँप महोत्सव : तीन दिनमा १५ लाखको बिक्री

९ असार, काठमाडौं । आँप रुचाउने शंखमूलका प्रतीक आचार्यले स्वाद पछ्याउँदै काठमाडौंमा आयोजना गरिएको महोत्सवमा पुगे । आँप महोत्सवमा उनले जर्दा, बम्बई, गुलाब खास, कलकत्तिया, दसहरी गरी पाँच थरी आँपको स्वाद चाखे ।
तीनदिन चलेको महोत्सवमा उनले आँपको अनेक प्रजाति चिन्ने मौकामात्रै पाएनन्, आँपबाट बन्ने रेसेपी, अचार लगायतका बहुउपयोगिता र महत्वबारे पनि बुझ्न पाए । ‘हेर्दा एउटै लाग्ने आँप स्वाद र यसको प्रयोग बहुआयामिक रहेछ,’ उनले भने ।
प्रतीकले जस्तै धेरैलाई विभिन्न प्रजातिका आँप चाख्ने र उपयोगबारे बुझ्ने अवसर जुराइदियो, किसान भेन्चर र काठमाडौं अर्गानिक्सले आयोजना गरेको ‘प्रथम नेपाल आँप फेस्ट २०८१’ले ।
शुक्रबारदेखि सुरु भएको आँप महोत्सव विभिन्न कार्यक्रमकाबीच आइतबार समापन भयो ।
नेपाली आँपको प्रयोग बढाउन, किसानलाई प्रोत्साहित गर्न र उपभोक्तालाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्याउने उद्देश्यले काठमाडांैमा आँप महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा सर्लाही, सप्तरी, सिराहा, महोत्तरीलगायत जिल्लाका ५० किसानका बगानबाट ल्याइएका आँप राखिएको थियो ।
महोत्सवमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्मई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँप प्रदर्शनमा रखिएका थिए ।
आयोजकका अनुसार १० हजारले महोत्सव अवलोकन गरेका छन् । त्यस्तै तीनदिनको अवधिमा १५ लाख बराबरको आँप बिक्री भएको छ ।
काठमाडौं अर्गानिक्सका सञ्चालक भुवन केसीले नेपाली बजार प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सवले आँपलाई चिनाउन मद्दत पुर्याएको बताए । ‘नेपालमा मात्रै १५४ प्रजातिका आँप पाइने भए पनि धेरैलाई थाहा छैन,’ उनले भने ।
आँप फलको रूपमा मात्रै नभएर अचार, पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम, जुस, रेसिपीलगायतका रूपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने महोत्सवले देखाएको छ ।
केसीले भने, ‘जेठदेखि साउन मसान्तसम्म पाक्ने भएकाले फलका रूपमा आपको सिजन छोटो हुन्छ । तर यसलाई अन्य परिकार बनाएर प्रयोग गर्ने हो भने यसको बजार वर्षभर रहन्छ ।’
तस्वीरहरू : चन्द्रबहादुर आले
– यस समाचारको श्रोत : Online Khabar हो ।