Main

चुक्ता पूँजीको १ प्रतिशत बढी ऋण हुने बैंक सञ्चालक बन्न नपाउने

८ चैत, काठमाडौं । बैंकबाट व्यावसायिक ऋण लिएका व्यक्तिलाई सञ्चालक बन्न कडाइ गर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन हुने भएको छ ।

बिहीबार अर्थमन्त्री वर्षमान पुनले बाफिया संशोधन विधेयक प्रस्तुत गर्दै चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने व्यवस्था प्रस्ताव गरेका हुन् ।

‘सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज सञ्चालक हुन चाहेको बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको एक प्रतिशतभन्दा बढी भएको सञ्चालक हुन योग्य हुनेछैन,’ प्रस्तावित बाफिया संशोधनमा भनिएको छ ।

यस्तै बैंकको सञ्चालक हुन ७० वर्ष उमेर हद राख्ने गरी बाफिया संशोधन विधेयक संसदमा दर्ता भएको हो ।

हाल न्यूनतम २५ वर्ष उमेरको व्यवस्था रहेपनि संशोधनमा भने न्यूनतम २५ वर्ष र अधिकतम ७० वर्षको उमेर राख्न प्रस्ताव गरिएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button