Main

ओलम्पियन खेलाडीहरुलाई गण्डकी सरकारको सम्मान

२३ फागुन, काठमाडौं । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले बुधबार नगदसहित सम्मान गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ९ खेलाडीलाई वार्षिक ५ हजार रुपैयाँका दरले एक वर्षको एकमुष्ट ६० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

नेपाल ओलम्पियन संघको पहलमा गण्डकी प्रदेशले आफ्ना प्रदेशमा खेलाडीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा बागलुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहेका छन् । ९ मध्ये मनिषाले युथ ओलम्पिक खेलेकी थिइन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेलको बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताए ।

‘हिजो राष्ट्रका लागि खेल्नुभएका खेलाडीहरु आज कहाँ-के गर्दै हुनुहुन्छ । उनीहरुलाई बिर्नुहुँदैन । राज्यले उहाँहरुलाई सम्झनुपर्छ सम्मान गर्नुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’ मुख्यमन्त्री पाण्डेले भने । यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनले बताए ।

यस्तै ओलम्पिकलाई सम्मान गर्ने कामको थालनी गरेपछि मुख्य मन्त्री पाण्डेले अन्य प्रदेशहरुलाई पनि यो कार्य गर्न अपिल गरेका छन् ।

सम्मानित खेलाडीहरुमध्येबाट आफ्नो धारणा राखेका राजेन्द्र भण्डारीले भावुक हुँदै ढिलै भए पनि सम्झिएकोमा धन्यवाद ज्ञापन गरे । ‘बुढेशकालमा भए पनि सम्झिनुभयो । यो राम्रो सुरुवात हो । सबैले यसरी सम्झिए खेलकुदमा राम्रो हुन्छ ।’

त्यस अवसरमा ओलम्पियन तथा नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले प्रदेश सरकारले खेलाडीहरुको हितमा उल्लेखनीय कार्य गरेको बताउँदै प्रदेश सरकारले खेलाडीहरुलाई विरामी भएर ‘सिटामोल’ किन्न समस्या परेको बेला यो रकमले सञ्जिवनीको कार्य गर्ने बताए ।

गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषदमा सुचिकृत भएका ५९४ जना र पूर्व राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय खेलमा सहभागी भएका १०० जना गरी ६९४ जनाको स्वास्थ्य बिमा गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button