सी डिभिजन लिगमा आरसी ३२ को पहिलो बराबरी

१० वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा सुरूवाती तीन खेलमा लगातार जित हात पारेको आरसी ३२ फुटबल एकेडेमी सोमबार सामाजिक युथ क्लबसँग बराबरीमा रोकिएको छ ।
पहिलो हाफमै दश खेलाडीमा समेटिएको आरसी ३२ ले सामाजिक युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा दुवै टोलीले केही अवसर बनाए पनि गोल गर्न सकेनन् ।
आरसी ३२ का धिरज विष्टले ३५औं मिनेटमा रातो (दोहोरो पहेँलो) कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा सामाजिक युथ क्लबले उठाउन भने सकेन ।
पहिलो बराबरीपछि चार खेलबाट १० अंक जोडेको आरसी ३२ अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । आरसी ३२ को बराबरीपछि अब जारी लिग शतप्रतिशत जित हात पार्ने टिम पुल्चोक स्पोर्ट्स क्लब मात्र रहेको छ ।
सामाजिक युथ क्लबको यो दोस्रो बराबरी हो । दुई बराबरी र दुई हारबाट सामाजिकको २ अंक मात्र छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।