सुदूरपश्चिममा नाउपाका खुसीराम डगौरालाई उद्योग मन्त्रालयको जिम्मेवारी

१५ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका बिना विभागीय मन्त्री खुसीराम डगौरा थारुलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बैठकले प्रदेशमा समेत अहिलेको सत्तागठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले थारुलाई जिम्मेवारी दिएका हुन् ।
मन्त्रालयमा पुगेर थारुले पदभार सम्हालेका छन् । मुख्यमन्त्री शाहले बिहीबार नै नाउपाका बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । यो सँगै मुख्यमन्त्री शाह नेतृत्वमा रहेको अल्पमतको सरकारले पूर्णता पाएको छ ।
शाहको सरकारमा कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै शिवराज भट्ट आन्तरिक मामिला तथा कानुन मन्त्री छन् भने अन्य सबै चार जना नागरिक उन्मुक्ति पार्टीबाट छन् । आर्थिक मामिला मन्त्री नाउपाका घनश्याम चौधरी, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र कृषि राज्यमन्त्रीमा इन्दिरा गिरी छन् ।
माओवादी र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नाउपाका ७ मध्ये चार सांसदलाई मन्त्री र एकलाई राज्यमन्त्री बनाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सुदूरपश्चिममा ७ वटा मन्त्रालय छन् ।
अल्पमतको सरकारलाई शाहले पूर्णता दिएपनि बहुमत भने पुगेको छैन । शाहको पक्षमा कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना छन् । उनलाई बहुमतका लागि २७ जनाको समर्थन चाहिन्छ । राप्रपा र स्वतन्त्र सांसदले समर्थन गरे मात्र बहुमत पुग्छ तर नाउपाभित्रै किचलो भएका कारण मुख्यमन्त्री अप्ठयारोमा पर्ने देखिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।