Main

सुदूरपश्चिममा बल्लतल्ल मन्त्रिपरिषद विस्तार, जिम्मेवारी तोक्न सकस

२८ जेठ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले ४० दिनपछि सोमबार एमाले र माओवादीका ३/३ र आफ्नो दल एकीकृत समाजवादीका एक जनालाई समेटेर तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका सोडारीले अरु पाँच जनाको भने मन्त्रालय तोकेका छैनन् ।

एमालेका वीरबहादुर थापा र हीरा सार्की, माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तले विना विभागीय मन्त्रीका रुपमा शपथ लिए ।

मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद डा. तारा जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए तर जोशीले मन्त्री पद अस्वीकार गरे ।

‘उहाँहरुले जहाँ पठाउन खोज्नुभयो त्यहाँ जाने तयारी नै थिएन’, जोशीले अनलाइनखबरसँग भने, ‘अर्को कुरा मलाई साझा वातावरण चाहिएको थियो । त्यो सम्भावना पनि कम देखेका कारणले नगएको हुँ ।’

भागबण्डा कसरी पुर्‍याउने ?

६ वैशाखमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले सोमबार गरेको मन्त्रिपरिषद विस्तार तेस्रो हो ।

६ वैशाखमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका सोडारीले १८ वैशाखमा नाउपाकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाएका थिए । त्यतिबेला उनले चारवटा मन्त्रालय आफैंसँग राखेका थिए ।

सोमबार ७ जना मन्त्री नियुक्त गरेका उनले दुई जनाको मात्र मन्त्रालय तोकेका छन् भने अन्य पाँच जनालाई विना विभागीय मन्त्री बनाएका छन् ।

तेस्रो पटक विस्तार गर्दा पनि उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् भने नियुक्त मन्त्रीहरुलाई पनि जिम्मेवारी दिन सकेनन् ।

सोमबार एमाले नेता पाललाई आर्थिक मामिला र माओवादी नेता भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिएपछि मुख्यमन्त्ती सोडारीसँग अब २ मन्त्रालय मात्र बाँकी छ ।

अब उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयबाटै मन्त्रिपरिषदमा विना विभागीय रहेका ५ जनालाई जिम्मेवारी तोक्नुपर्ने छ ।

त्यसका लागि उनीसँग मन्त्रालय विभाजनको विकल्प छैन । सत्ता गठबन्धनका नेताहरुका अनुसार भागबण्डा मिलाउन मन्त्रालय टुक्रयाउने योजनाअनुसार नै मुख्यमन्त्री सोडारीले तत्काललाई मन्त्रीहरुलाई जिम्मेवारी नतोकेका हुन् ।

मुख्यमन्त्री सोडारीले सोमबार नै मन्त्रालय टुक्रयाएर मन्त्रीहरुलाई जिम्मेवारी तोक्न चाहेका थिए । तर सत्ता गठबन्धनभित्रै गृहकार्य बिना मन्त्रालय विभाजन गर्न नहुने दबाब आएपछि उनी रोकिएका थिए ।

‘प्रदेश सरकार कार्यविभाजन नियमावली संशोधन गरेर आजै मन्त्रीहरुको जिम्मेवारीसहित सरकारलाई पूर्णता दिने कुरा थियो तर विभिन्न खालका कुराहरु आएपछि मुख्यमन्त्रीज्यू रोकिनुभएको हो’, सत्तारुढ गठबन्धनका एक सांसदले भने, ‘चाडै मन्त्रालय विभाजन गरेर मन्त्रीहरुको जिम्मेवारी तोकिन्छ होला ।’

मुख्यमन्त्री सोडारीले पनि छिटै मन्त्रीहरुको जिम्मेवारी तोक्ने प्रतिक्रिया दिएका छन् ।

‘सबै नेताहरुको सरसल्लाहमा हामी चाडै विना विभागीय मन्त्री ज्यूहरुको विभाग तोकेर अघि बढ्छौँ,’ सोडारीले भने, ‘मन्त्रीहरुको व्यवस्थापन हुने देखेरै बनाइएको हो । अरु प्रदेशमा पनि देखिरहनुभएको छ होला नी होइन ?’

तर सत्तागठबन्धनको भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्ने सरकारी तयारीको विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले संघीयताप्रति नकारात्मक टिप्पणी भइरहेका बेला मन्त्रालय टुक्रयाउने कुरा गलत भएको प्रतिक्रिया दिए ।

‘सानो देशको सानो प्रदेशमा धेरै मन्त्रालय बनाएर व्यवस्थापन कसरी गर्ने हो ?’ उनले प्रश्न गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button