सुनदह ! तिम्रो बयान गर्न असमर्थ छु

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पर्छ-सुनदह । समुद्री सतहबाट ४ हजार ३३५ मिटर उचाइमा रहेको यो दह पछिल्लो समय आन्तरिक पर्यटकको आगमनसँगै चर्चामा आउन थालेको छ ।
पुथा उत्तरगंगा गाउँपालिका-३ मा पर्ने सुनदह पाटनमा रहेको दहमा दृश्य निकै रोमाञ्चक थियो । हुन त सबै दृश्यहरु वर्णन गर्न सकिँदैन । सायद सम्भव पनि छैन होला !
रोल्पादेखि रुकुम पूर्वको सुनदह पुगेर त्यहाँको दृश्य नियाल्दा मलाई पनि घरी बादल बन्न मन लाग्यो । ढुंगेनी खागर त कहिले बतास हुन मन लाग्यो ।
त्यसैले,
सुनदह !
तिम्रो बयान गर्न म असमर्थ छु ।
तिमीलाई हेर्दा लाग्यो,
म त्यो बादल हुनुपर्ने –
जो तिम्रो सामीप्यताको लालचमा तिमीसँग
लुकामारी खेल्न घरिघरी आइरहन्छ ।
म त्यो ढुंगेनी खागर हुनुपर्ने –
जो तिम्रो सुन्दरताले कायल बनी
हलचल नगरी निरन्तर तिमीलाई हेरिरहन्छ ।
म त्यो बतास हुनुपर्ने –
जो तिमिलाई छुन मात्र पनि कयौं डाडाँकाँडा नाघी आउँछ,
र, तिमीभित्र ती तरंग पैदा गर्छ ।
म त्यो फराकिलो गगन हुनुपर्ने –
जसले तिमीमा आफ्नो अनेक प्रतिविम्ब हेर्ने
सौभाग्य पाएको छ ।
म त्यो तिमीलाई सजाउने फूल हुनुपर्ने –
जसले तिम्रो काखको आभाष पाएको छ ।
ओ सुनदह !
तिम्रो बयान गर्न म असमर्थ छु ।
– यस समाचारको श्रोत : Online Khabar हो ।