लुम्बिनीमाथि जितपछि कोशी शीर्ष २ मा

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित हात पार्र्दै कोशी प्रदेश शीर्ष दुईमा परेको छ । उसले एपीएफसँग पहिलो क्वालिफायर्स खेल्ने भएको छ ।
मूलपानी मैदानमा लुम्बिनीले दिएको ७० रनको लक्ष्य कोशीले १०.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले अलराउन्डर प्रदर्शन गरिन् । बलिङमा ४ विकट लिएकी उनले ब्याटिङमा ४४ रन बनाइन् । ३४ बल खेलेकी उनले ८ चौका प्रहार गरेकी थिइन् ।
काजोल श्रेष्ठ १३ बलमा २ चौकासहित १३ रनमा आउट भइन् । अप्सरी बेगम २ रनमा आउट भइन् । लकिता राजवंशी ५ र विमला मलाहा शून्यमा अविजित रहिन् ।
लुम्बिनीका लागि कृतिका मरासिनीले २ र मधु डिसीले १ विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती जीएमले सर्वाधिक १७, आश्मा पुलामी मगरले १६ र मनिषा रानाले १२ रन बनाए ।
कोशीका लागि रुबिना क्षेत्रीले सर्वाधिक ४ विकेट लिइन् । संगीता राईले २ विकेट र सबनम राई, अप्सरी बेगम र अलिशा खडियाले समान १/१ विकेट लिए ।
कोशी ७ खेलमा ६ जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै, लुम्बिनीले भने शनिबार कोशीसँग अन्तिम खेलमा हारसहित प्रतियोगिता सकेको छ । लुम्बिनीले खेलमा ५ हार र २ जितको नतिजा निकालेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।