काठमाडौं–२१ मा फायर फाइटिङ पाइपलाइन जडान, भयो सफल परीक्षण

२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–२१ मा फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको छ । पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ ।
काठमाडौं महानगरपालिका अनुसार ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म दमकल छिर्न नसक्ने गल्लीमा वडा नं २१ कार्यालयले यस्तो पाइपलाइन जडान गरेको हो ।
यसको लम्बाइ १३० मिटर छ । शुक्रबार फायर फाइटिङ पाइप लाइनमा वारुणयन्त्र कार्यालयका अग्नि नियन्त्रकले परीक्षण गरेका छन् । परीक्षणका क्रममा एक ठाउँमा पानी चुहिएको थियो । त्यस ठाउँमा परीक्षणकै क्रममा सुधार गरिएको महानगरपालिकाले जनाएको छ ।
प्रणाली जडानको लागत करिब ८ लाख रुपैयाँ रहेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष उदयचुडामणि बज्राचार्यका अनुसार आगामी वर्ष थप गल्लीमा प्रणाली जडान गर्ने योजना छ ।
अग्नि नियन्त्रक नरेशराज कुँवरका अनुसार १३० मिटर लामो पाइप लाइनको दुवैतिर इनलेट राखिएको छ ।
दुवै इनलेटबाट दमकलको पानी जोड्न सकिन्छ । लाइनको बीचमा ४ वटा आउटलेट छन् ।
आगलागीको स्थानमा नजिक पर्ने कुनै पनि आउटलेटबाट पाइप जोडेर आगो नियन्त्रण गर्न सकिन्छ । उनका अनुसार ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुगेको थियो ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका विभिन्न विन्दु (४५ मिटरदेखि ७५ मिटरको दुरी) मा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरपालिकाको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।