सुरू हुन थाल्यो खेती सिजन, पाइएला रासायनिक मल ?

२४ फागुन, काठमाडौं । वसन्त ऋतु सुरुवातसँगै नेपालमा खेतीपाती लगाउने सिजन सुरु हुन्छ । नेपाली किसानले सधैंभरि भोग्दै आउने एउटा समस्या भनेको रासायनिक मल हो । चैत लागेपछि चैते धान र मकै खेती लगाउने बेला सुरु हुन्छ ।
रासायनिक मलको मुख्य खपतका बेला किसानले मलका लागि आन्दोलन गनुपर्ने अवस्था रहँदै आएकोमा यो वर्ष भने त्यस्तो अवस्था नआउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।
कृषि प्रधान देश भने पनि प्रत्येक वर्ष समयमा मलखाद नहुँदा किसानले आन्दोलन गरिरहेका हुन्थे । नेपालमै रासायनिक मल उत्पादन नहुने भएपछि सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेड मार्फत मल किनेर किसानलाई बेचिरहेको छ ।
सधैं देखिने समस्या यसपालि नदेखिने मन्त्रालयको दाबी छ । कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ लाख टन मल नेपाल आयात हुँदैछ ।
‘मल अभाव हुँदैन’
मन्त्रालयका उपसचिव तथा वरिष्ठ बाली विकास अधिकृत मुकुन्द भुसाल यो वर्ष मल अभाव नहुने बताउँछन् ।
‘हामीले ५ लाख २० हजार टनका लागि बजेट विनियोजन गरेकोमा यसपालि अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घट्दा ६ लाख टन आउने भएको छ,’ भुसालले भने ।
उनले किसानको गत वर्षको खपत अनुसार ५ लाख २० हजार टन रासायनिक मल नेपाललाई पर्याप्त हुने बताए । ‘यसपालि ६ लाख टन मल आउँदा पुग्ने देखिन्छ । अब गत वर्षजस्तो मलको समस्या देखिँदैन,’ भुसालले अनलाइनखबरसँग भने ।
उनका अनुसार हाल साल्ट ट्रेडिङले मल बिक्री नभएर गुनासो गरिरहेको अवस्था छ । मल अभाव भएको कतै सुनियो भने त्यो कोटाको कारण हुन्छ । मलका लागि प्रदेश सरकारले कोटा तोकिदिएको हुन्छ ।
‘कुनै पालिकामा कोटा अनुसार मल पुग्दैन, कतै कोटाको आधा पनि मल खपत हुँदैन, त्यो नमिल्दा आउने विषय हो,’ उनले भने ।
भुसालका अनुसार सरकारले किन्न लागेको मल किसानका लागि पर्याप्त हुने हुँदा योपटक अभाव हुँदैन । सरकारले भारतसँग २५ हजार टन मल किन्न १५४ दिन अगाडि नै प्रतीतपत्र (एलसी) खोलिसकेको छ । एलसी खोलेको अधिकतम ११० दिनमा मल आउने व्यवस्था रहेको छ ।
‘२५ हजार टन मल आयात हुने भइसकेको छ । त्यो भारतको मल विभागले अनुमति दिनेबित्तिकै नेपाल आउँछ,’ भुसालले भने ।
२१ फागुनसम्म २ लाख ७७ हजार टन मल आयात
कृषि मन्त्रालयको चालु आव २१ फागुनसम्मको तथ्यांक हेर्ने हो भने २ लाख ७७ हजार ७ सय ९३ टन मल आयात भइसकेको छ । जसमा कृषि सामग्री कम्पनीले १ लाख ५३ हजार ६ सय ६४ र साल्ट ट्रेडिङ कर्पोरेसनले १ लाख २४ हजार १ सय २८ टन ल्याएका छन् ।
सबैभन्दा धेरै युरिया मल आयात भएको छ । कृषि सामग्रीबाट ९९ हजार ३ सय ८६ र साल्ट ट्रेडिङबाट ६९ हजार ४ सय १० गरी कुल १ लाख ६८ हजार ७ सय ९७ टन मल आएको हो ।
यस्तै डीएपी मल कृषि सामग्रीले ५० हजार ७ सय ६० र साल्ट ट्रेडिङले ४७ हजार १ सय ५ गरी ९७ हजार ८ सय ६५ टन डीएपी मल आयात भएको छ ।
यसैगरी पोटास मल ११ हजार १ सय २९ टन आयात भएको छ जसमा कृषि सामग्रीले ३ हजार ५ सय १७ र साल्ट ट्रेडिङले ७ हजार ६ सय १२ टन ल्याएको छ ।
मन्त्रालयका अनुसार चालु आव अघि ७० हजार ८३० टन सहित ३ लाख ४८ हजार ६२३ टन मल मौज्दात थियो ।
२ लाख ६१ हजार टन बिक्यो
मन्त्रालयसँग मौज्दात रहेको ३ लाख ४८ हजार ६२३ टन मल मध्ये कृषि सामग्री र साल्ट ट्रेडिङबाट चालु आवमा २ लाख ६१ हजार टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ । युरिया, डीएपी र पोटास गरी कृषि सामग्रीले १ लाख ३३ हजार ७ सय ३८ टन बेचेको हो । जसमा युरिया ७७ हजार २ सय ३, डीएपी ५१ हजार ४ सय ४९ र पोटास ५ हजार ८५ टन बिक्री गरेको छ ।
यस्तै साल्ट ट्रेडिङले १ लाख २७ हजार २ सय ६५ टन बिक्री गरेको छ । जसमा युरिया ७२ हजार १ सय ४८, डीएपी ५१ हजार ३ सय ५९ र पोटास ३ हजार ७ सय ५७ टन बेचेको हो ।
मन्त्रालयका उपसचिव भुसालका अनुसार गत आवको मौज्दात रहेको रासायनिक मलसहित र चालु आवमा आयात भएको मल बेचिएको हो ।
८७ हजार टन मल मौज्दात
कृषि मन्त्रालयका अनुसार हाल मुलुकमा ८७ हजार ६ सय १९ टन रासायनिक मल अझै मौज्दात छ । कृषि सामग्रीमा ५३ हजार ३ सय ६५ र साल्ट ट्रेडिङसँग ३४ हजार २ सय ५४ टन मल मौज्दात छ ।
सबैभन्दा धेरै युरिया मल मौज्दात छ । कृषि सामग्रीमा युरिया मल ४१ हजार ८ सय १ र साल्ट ट्रेडिङसँग १९ हजार ६५ टन युरिया मल मौज्दात छ । दुवै कम्पनीसँग गरेर डीएपी २२ हजार ८ सय २४ र पोटास ३ हजार ९ सय २७ टन मौज्दात छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।