‘लिटल बुद्ध’को ऐयासी जीवन

२५ पुस, काठमाडौं । १७ देशका मुद्रा, तीन करोड तीन लाख ७५ हजार त नेपाली रुपैयाँ मात्रै । आफूलाई लिटल बुद्ध बताउने र बाल यौन दूराचार, हत्या र ठगी घटनाको आरोप लागेका रामबहादुर बम्जन महँगो ल्यान्डक्रुजर गाडी चढ्ने तरखरमा थिए । व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा बोक्दा रहेछन् ।
बुधबार सीआईबीले सार्वजनिक गरेको तथ्यहरुले बम्जनको बिलासी जीवन प्रतिविम्बत गर्छ । उनले कमाएको सम्पत्तिको कुनै स्रोत खुलेको भेटिँदैन, जबकि ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।
बाराको हलखोरियामा ०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही चल्न सकेको थिएन । पाँच वर्षपछि ०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
शक्तिकेन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता बेपत्ताजस्तै थिए ।
मंगलबार बुढानीलण्ठस्थित घरबाट बम्जन पक्राउ पर्दा प्रहरीले बरामद गरेको सामान बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सीआईबीका अनुसार बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । रामबहादुर बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको थियो ।
उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ ।
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
– यस समाचारको श्रोत : Online Khabar हो ।