‘सेवा’ भनेकैले राजनीति बिग्रिएको त होइन ?

राजनीतिलाई नीतिहरू मध्येको राजा हो भन्ने मानिन्छ । प्राचीन दार्शनिक अरस्तुले राजनीतिलाई विज्ञानकी रानी भन्थे । कुनै पनि देशको विकास अथवा अविकासमा राजनीतिको प्रधान भूमिका रहन्छ । केन्द्र नीति अथवा मियो नीति भएका कारण राजनीति सफा, शुद्घ तथा जनताकेन्द्रित भए समाजका अन्य सबै क्षेत्र र विधा स्वतः उही लयमा बहन थाल्छन् ।
यदि राजनीति नागरिक समर्पित नभए अनि जनताको खास चासो र सरोकारभन्दा बाहिर गए समाजका अरू सबै क्षेत्र पनि कुरूप तथा असंगतिपूर्ण बन्दै जान्छन् । त्यही भएर साहित्यकार स्व. जगदीश घिमिरेले उनको कृति ‘सकस’मा समाजका अन्य विधा र पक्षलाई सहायक बाटो अनि राजनीतिलाई मूल बाटो भनेका छन् ।
दार्शनिक र साहित्यकारहरूले फरक÷फरक धारणा व्यक्त गरे पनि राजनीतिमा नै संलग्न नेताहरू स्वयं भने राजनीतिलाई सेवा मान्छन् । राजनीतिक अभ्यास मार्फत देश र नागरिकको सेवा गरिरहेको भनेर आत्मप्रशंसाको अलाप लगाउँछन्। साँच्चै उनीहरूका गतिविधिलाई परिवारका सदस्य बाहेक अन्यले पनि सेवा नै मानेका छन् कि छैनन् भन्नेचाहिं कहीं कतै मापन गरिएको छैन ।
नेताहरूले जनताको सेवा कुन तह र तरिकाले गरेका छन् भन्ने वास्तविकतालाई थुप्रै तथ्यांकले उजागर गरेकै छ । व्यापार घाटा थेगिनसक्नु छ । एक वर्षमा ७ लाख युवा विदेशिएका छन् ।
दुई लाख बढी उच्च शिक्षा अध्ययनमा गएका छन् । वास्तवमा त्यो दुई लाखचाहिं विदेशिएका होइनन्, एक ढंगले देश नै छाडेका हुन् । विदेशिएका त कुनै दिन देशमा आउँछन् । तर पढ्ने नाममा गएका अब फर्किएर आउने सम्भावना निकै कम देखिन्छ ।
भ्रष्टाचारमा कीर्तिमान बनिरहेका देखिन्छन् । नेताहरू नमिलेर मात्र देश बिग्रिएको होइन, मिल्दा पनि बिगार्दा नै रहेछन् भन्ने कुरा यी विविध काण्डबाट प्रस्ट भएकै छ । सरकार र नेताप्रति नागरिकमा सामान्य विश्वसनीयता पनि छैन ।
राजनीति निःसन्देह र नागरिक निराश छन् । कुनै पनि बेला बंगलादेशको जस्तो विद्रोह फुट्न सक्छ भन्नेहरूको पनि कमि छैन । तर कहींकतै हाम्रो देशको राजनीतिले नागरिक अपेक्षा पूरा गर्न नसक्नुमा चाहिं ‘राजनीति भनेको सेवा हो’ भन्ने मान्यता नै प्रधान कारण बनेको त छैन भन्ने प्रश्न जन्मिएको छ ।
सेवा भन्ने वित्तिकै स्वेच्छाले गर्ने अथवा स्वेच्छिक काम हो । मन लागे गर्ने र मन नलागे नगर्ने गर्न पाइन्छ । सेवा फगत आफ्नो आनन्द र खुसीका लागि गरिन्छ । सेवामा आफूलाई केन्द्रमा राखिन्छ ।
मैले सेवा गरेको छु, त्यही भएर म मुख्य अथवा प्रधान हुँ भन्ने भावना अव्यक्त हुन्छ । अरूबाट कृतज्ञता अपेक्षा गरिन्छ । अरूको आवश्यकता हैन, आफ्नो खुसी मुख्य हुन्छ । सेवा कति र कुन मात्रामा गर्नुपर्छ भन्ने कुनै निश्चित मापदण्ड पनि हुँदैन । आफूले चाहेकालाई सेवा गर्ने र नचाहेकालाई नगर्दा पनि हुन्छ । सेवा सबैलाई गर्नुपर्छ भन्ने कुनै बाध्यात्मक परिस्थिति हुँदैन ।
सेवा गर्दा आफूले रुचाए अनुसारको मात्र गर्ने छुट हुन्छ । सेवा गर्ने भनेको अपेक्षितको अथवा ग्राहीको आवश्यकता अथवा आशा अनुरूप नै हुनुपर्छ भन्ने छैन । दिनेले जे र जति दियो पाउनेले त्यही र त्यतिमा नै खुसी अनि सन्तोष व्यक्त गर्नुपर्छ ।
अझ दिनेप्रति अनुग्रहित र कृतज्ञ पनि बन्नुपर्छ । सेवाका लागि वतन अथवा लाभ लिन पाइँदैन । सेवा गरे बापत कुनै प्रतिफल अथवा भुक्तानी आशा गरिंदैन । सेवा नगरे बापत कसैलाई दण्ड-जरिवाना गर्न मिल्दैन । सेवा नगर्दा कुनै कानुन आकर्षित गराउन सकिंदैन । सेवा भनेर गरेपछि कथम्कदाचित गलत नै मनसाय राखे पनि राम्रो भावले गरेको भनेर त्यसलाई छुट दिनुपर्ने हुन्छ ।
तर जिम्मेवारी पूरा नगरे वा गलत गरे बापत भने दण्ड–सजाय गर्न पाइन्छ । उनीहरूले गलत गर्दा नेतृत्वलाई दण्ड–सजाय भएका विश्वमा अनेकन् उदाहरण छन् । राष्ट्रलाई घाटा लगाएको कारण केही वर्ष पहिले चीनका पूर्व रेलमन्त्री लिउ जिझुन र अर्को वर्ष उच्च बैंकर लियाई जिआओमिनलाई मृत्युदण्ड दिइयो ।
नागरिक र देशप्रतिको जिम्मेवारी पूरा नगरेको तर भ्रष्टाचारमा संलग्न भएबापत पछिल्लो दुई वर्षमा चीन, साउदी अरेबिया र अमेरिकामा दर्जनौंलाई मृत्युदण्ड दिइएको हुनसक्ने अनुमान एम्नेष्टी इन्टरनेशनलको छ ।
सन् १९६७ बाट १९९८ सम्मका इन्डोनेसियाका राष्ट्रपति मोहम्मद सुहार्नेलाई लगभग ३५ अर्ब डलर अपचलन गरेकोमा दण्ड भयो । सन् २०१२ मा फिजीका पूर्व प्रधानमन्त्री लाइसेनिया क्वारिजलाई भ्रष्टाचार आरोपमा जेल चलान गरियो । ब्राजिलमा भएको एक घोटालामा २०१२ मै त्यहाँका शक्तिशाली नेता जोस डिरेकु दण्डित हुनुपर्यो ।
अर्को एउटा समान मुद्दामा २०१२ मा नै क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सनादरलाई १० वर्ष कैद सुनाइयो । इजरायलका पूर्व प्रधानमन्त्री इहुद अर्लमर्टलाई ६ वर्षको जेल सजाय भयो । बंगलादेशमा पूर्व प्रधानमन्त्री वेगम खालिदा जियालाई पनि भ्रष्टाचारको अभियोगमा १८ वर्ष जेल तोकिएको थियो ।
तर हाम्रो देशमा राजनीतिमा संलग्न भएर राम्रो गर्ने वा नगर्ने वा गलत गर्ने सबैलाई समान व्यवहार र सुविधा प्राप्त छ । सदैव उत्तिकै उन्मुक्त छन् ।
देश गरिबीमा डुब्दैछ, नेता अर्बपतिमा उक्लदैछन् । देश नबने पनि नेताहरू भने बनेका छन् । देश नफेरिए पनि, नेताहरू प्रशस्तै फेरिएका छन् । देशको नभए पनि नेताको चाहिं विकास भएकै छ ।
हामी आमनागरिकलाई चाहिं राजनीतिलाई सेवा भनेर गलत भाष्य निर्माण गराइयो । तसर्थ राजनीति गर्नेहरूले कुनै जिम्मेवारी वहन गर्नुपर्छ भन्ने मनन् गराइएन । नागरिकको अपेक्षा पूरा गर्नुपर्ने नैतिक दायित्व निर्माण गराइएन । उनीहरूको निष्प्रभावितामा दण्ड र सजाय हुनुपर्छ भन्ने चेत निर्माण हुन दिइएन ।
जे सके त्यही गरे, नसकेको सबैमा माफी–मिनाहा तथा छुट हुन्छ भन्ने मनोविज्ञान निर्माण गराइयो । सेवा हो, उनीहरूको मर्जी अनुसार गरे भनेर सबैलाई स्वतः स्वीकार्ने आदत अनि आचरण विकसित गराइयो ।
अब राजनीतिलाई सेवाको गलत भाष्यबाट मुक्ति दिएर जिम्मेवारीको रूपमा बुझ्नुपर्छ । जिम्मेवारीमा यसलाई बहन गर्ने मापदण्ड हुन्छ ।
आफूले चाहे अनुसार हैन, ग्राही र नियोक्ताले अपेक्षा गरे अनुसार कार्यसम्पादन गर्नुपर्छ। त्यसो गर्न नसकेमा जिम्मेवारीबाट मुक्त हुने मात्र हैन, दण्ड–सजाय पनि भोग्नुपर्छ। आफ्नो अक्षमताले भएको हानि–नोक्सानीको क्षतिपूर्ति दिनुपर्छ । आत्म-आलोचित समेत हुनुपर्छ ।
तसर्थ राजनीतिलाई अब सेवा नभई जिम्मेवारीको रूपमा बुझ्ने र बुझाउने माहोल तथा मनोविज्ञान निर्माण हुनुपर्छ । जबसम्म राजनीतिलाई सेवा मान्ने भुलभुलैया समाजमा व्याप्त रहन्छ, तबसम्म राजनीतिज्ञहरू गैरजिम्मेवार र मनमौजी भइरहन्छन् ।
देश अधोगतिको मार्गमा लम्किरहन्छ । राजनीतिलाई सेवा भनेर व्याख्या गर्नु नै नागरिकप्रतिको दायित्व र जिम्मेवारीबाट भाग्नु अथवा राजनीतिलाई बिगार्नु हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।