बीएससी सीएसआईटी उतीर्णलाई कम्प्युटर इन्जिनियरिङ पढाउन दिन माग

२ फागुन, काठमाडौं । आईटी एसोसिएशनले बीएससी सीएसआइटी उतीर्ण विद्यार्थीलाई माध्यमिक तहमा कम्प्युटर इन्जिनियरिङ पढाउन दिनुपर्ने माग गरेको छ ।
विद्यालय तहको पाठ्यक्रम परिमार्जन गरेर बीएससी सीएसआईटी उतीर्णहरुले पढाउन पाउने व्यवस्था गर्नुपर्ने अध्यक्ष दीपक भण्डारीले बताए ।
२०७२ सालदेखि ९ देखि १२ कक्षासम्म प्राविधिक तथा व्यवसायिक शैक्षिक कार्यक्रमका ६ वटा विधा लागू भएको छ । त्यसको लागि हरेक विधामा वरिष्ठ प्रशिक्षक, प्रशिक्षक र सहायक प्रशिक्षक गरी तीन तहको प्रशिक्षक पद छुट्याइएको छ ।
प्राविधिक तथा व्यवसायिक शैक्षिक कार्यक्रमका ६ वटा विधामध्ये अहिले १०२ विद्यालयमा कम्प्युटर इन्जियिरिङ पढाइ हुने गरेको छ । करिब ५५ विद्यालयमा बीएससी सीएसआईटी पढेका शिक्षकले कम्प्युटर इन्जिनियरिङ पढाइरहेका छन् ।
तर सरकारी मापदण्ड अनुसार योग्यता नभएकाले जुनसुकै बेला जागिर छोड्नुपर्ने स्थितिले कार्यरत शिक्षकहरु त्रासमा रहेको भण्डारी बताउँछन् दोलखाको डहु माध्यामिक विद्यालयमा कार्यरत भण्डारी भन्छन् ‘कुन बेला निस्केर जानुपर्ने हो । टुंगो छैन, सरकारले तोके अनुसार योग्यता पाएको शिक्षक पाएपछि हामी चुप लागेर निस्कनुपर्ने हुन्छ ।’ बीएससी सीएसआइटीको पाठ्यक्रम पढेकाले पढाउन सक्ने गरी कक्षा ९–१२ को पाठ्यक्रम परिमार्जिन भएकाले शिक्षक योग्यता संशोधन हुनुपर्ने उनको भनाइ छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको शैक्षिक प्रविधि शाखाले १४ मंसिर २०७५ सालमा कम्प्युटर इन्जिनियरिङ विषय प्रशिक्षकको योग्यता अनुसार बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ र बीएस्सी सीएसआइटी पढेकाले पनि अध्यापन गर्न सक्छन् ।
उक्त सूचनामा केन्द्रले प्राविधिक धार सञ्चालन भइरहेका सबै विद्यालयलाई बीई कम्प्युटर इन्जिनियरिङ, बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ, बीई इन्फरमेसन टेक्नोलाजी, बीई सफ्टवेयर इन्जिनियरिङ, बीई कम्प्युटर सिस्टम इन्जिनियरिङ, बीएस्सी सीएसआइटी विषयमध्ये कुनै एक योग्यता भएकाले पढाउन पाउने स्पष्ट पारेको छ । तर, त्यसको एक महिना नबित्दै केन्द्रले अर्को सूचना जारी गर्दै बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ र बीएससी सीएसआइटी पढेकाले कम्प्युटर इन्जिनियरिङ पढाउन नपाउने बताएको थियो ।
तत्कालीन पाठ्यक्रम अनुसार कक्षा ९–१२ कम्युटर इन्जिनियरिङको पाठ्यक्रममा दुई वटा शस्र्षकको पाठ बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा नभएको र कम्प्युटर इन्जिनियर भएकाले र बीएससी सीएसआइटीले पढाउन नदिने निर्णय भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ ।
तर, बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङले भने इन्जिनियरिङ अध्ययन संस्थानले कक्षा ९–१२ कम्युटर इन्जिनियरिङ र बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ समान कार्यक्रम हो भनेर निकालेको सूचनाको कारण पढाउन पाउने भए । त्यही आधारमा विभिन्न तहमा रहेर पढाइरहेका छन् ।
बीएससी सीएसआईटी पढेकालाई भने तोके अनुसारको जनशक्ति नपाएको अवस्थामा मात्रै विद्यालयले रोजगारीको अवसर दिइरहेको छ । कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरिरहेका ग्रामीण क्षेत्रका विद्यालयहरुमा बीएससी सीएसआइटी उतीर्ण शिक्षकहरुले पढाइरहेका छन् ।
सरकारले २०७८ मा कक्षा ९–१२ को प्राविधिक धारको पाठ्यक्रम परिमार्जन गरेको थियो । परिमार्जन गर्दा बीएससी सीएसआईटी उतीर्णले पनि पढाउन सक्ने बनाइयो । तर, शिक्षकको योग्यताको मापदण्ड भने परिमार्जन भएन । त्यसैले उनीहरुले पाठ्यक्रम अनुसार शिक्षकको योग्यता परिमार्जन गर्नुपर्ने माग राख्दै आएका छन् ।
घोराही उपमहानगरपालिकाको पद्मोदय नमुना माविमा प्रशिक्षकको रुपमा नियुक्त भएकी आरधना सिंह प्रशिक्षकको योग्यता संशोधन हुनुपर्ने बताउँछिन् । भन्छिन् ‘समान पाठ्यक्रम हुँदा पनि किन पढाउन नपाउने ? यो संशोधन हुनुपर्छ ।’
इन्जिनियरिङ अध्ययन संस्थानको सूचनाको कारण बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ अध्ययन गरेकालाई भने अहिले समस्या नरहेको कंकाली माध्यमिक विद्यालयका कम्प्युटर इन्जिनियरिङ प्रशिक्षक पान्चु थापा बताउँछन् ।
तर, बीएससी सीएसआईटीको हकमा भने जनशक्ति अभावमा विद्यालयहरुले राख्ने तर केन्द्रले तोके अनुसारको योग्यता भएको शिक्षक पाएपछि पहिलाकोलाई हटाउने गरिरहेकाले त्यसको अध्ययन हुनुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘ग्रामीण क्षेत्रका विद्यालयहरुमा जनशक्ति अभाव छ । त्यस्ता विद्यालयहरुले खोजेको जनशक्ति नपाएपछि बीएससी सीएसआईटी पढेकालाई राख्ने त्यसपछि कोही आए अघिकालाई निकालेर राख्ने गरेको सुनिन्छ त्यस्तो हुनुहुँदैन ।’ खोजेको प्रशिक्षक नपाउँदा चाहिँ त्यही विषय पढेकालाई राख्ने तर अर्को पाएपछि चटक्कै निकाल्ने व्यवहार अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने कम्प्युटर इन्जिनियरिङ इन्जिनियरिङ विषय भएकाले बीएससी सीएसआइटीलाई पढाउन नदिने निर्णय भएको जनाएको छ । शिक्षक योग्यता संशोधन गर्नुपर्ने गुनासो आइरहे पनि अहिलेसम्म संशोधन गर्ने बारे कुनै छलफल नभएको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।