खानेपानीको बजेट अलपत्र आयोजनालाई मात्रै

१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा विनियोजन रकम घटाएको छ ।
२०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि २६ अर्ब ६३ करोड बजेट घोषणा गरेका हुन् । चालु आव खानेपानी र सरसफाइ क्षेत्रलाई २८ अर्ब १६ करोड छ ।
आकारमा घटेको खानेपानी तथा सरफाइ क्षेत्रको अधिकांश बजेट भने पुरानै अलपत्र आयोजनालाई मात्रै रहेको देखिन्छ ।
नयाँ कार्यक्रमका रूपमा सुनकोशी–मरिण तथा सुनकोशी–कमलाबाट मधेश प्रदेशका आठ जिल्ला, नारायणी नदीबाट चितवन, भेरी बबईबाट कोहलपुर र नेपालगञ्ज लगायत स्थानमा थोक वितरण प्रणालीबाट पानी आपूर्ति गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।
यस्तै भक्तपुर महादेव खोला तथा गुल्मी कंके देउरालीमा जलाशययुक्त खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइने बाहेक सबै पुराना कार्यक्रम मात्रै बजेटमा आएको छ ।
नयाँ बजेट, पुरानै कार्यक्रम
मन्त्री पुनले खानेपानी तथा सरसफाइ क्षेत्रमा प्रस्तुत गरेका बजेटमा अधिकांश पुरानै कार्यक्रम छन् । सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु¥याउने गरी सेवा विस्तार गरिने खानेपानी बजेटमा घोषणा भएको छ ।
आगामी आवको बजेटमा घोषणा भएको प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिइने भन्ने चालु आवकै कार्यक्रम उल्लेखित विषय हो ।
मेलम्ची खानेपानी आयोजनालाई दिगो रूपमा सञ्चालन गर्न इन्टेकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने घोषणा पनि बजेटले गरेको छ ।
जबकि, चालु आवकै बजेटमा मेलम्ची खानेपानी आयोजनाको अस्थायी हेडवक्र्स स्तरोन्नति गर्दै बाह्रै महिना खानेपानी आपूर्ति व्यवस्था मिलाइने उल्लेख छ ।
मेलम्ची खानेपानी आयोजनाबाट स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मण्डिखाटार र चावहिल क्षेत्रका ६ सय ४५ किलोमिटर पाइपलाइन परीक्षण सम्पन्न गरी खानेपानी वितरण गरिने मन्त्री पुनले घोषणा गरेका छन् ।
तर, चालु आवकै चक्रपथभित्र नयाँ वितरण प्रणालीमार्फत पानी वितरण गरिने, दोस्रो चरण अन्तर्गत कीर्तिपुर, थिमि, भक्तपुर, जोरपाटी, टोखा, कपन र पेप्सीखोला क्षेत्रमा पाइपलाइन निर्माण कार्य सुरु गरिने कार्यक्रम अहिले अलपत्र छ ।
बजेटमा काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तारको कार्य अघि बढाइने लगायत गरी मेलम्ची खानेपानी आयोजनालाई ५० करोड बजेट छुट्याएको छ ।
यस्तै खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत ३७ करोड लिटर फोहोरपानी प्रशोधन क्षमताको धोबीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने घोषणा भएको छ ।
धोबीघाट, बालकुमारी र सल्लाघारीमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख छ । चालु आवमै काठमाडौं धोबीघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने घोषणा थियो ।
भक्तपुर कटुन्जे, ललितपुर महालक्ष्मी, काठमाडौं भत्केपाटी ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गरिने उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।
निर्माणाधीन फोहोर पानी तथा ढल प्रशोधन केन्द्र सबै अलपत्र छन् । एसियाली विकास बैंक (एडिबी) को ४ अर्ब सहुलियत ऋणमा ललितपुरका बागमती र धोबीघाट तथा भक्तपुर सल्लाघारीमा सन् २०१७ जनवरीदेखि सुरु भए पनि सम्पन्न हुन सकेको छैन ।
आगामी आव खानेपानी सुविधा विस्तारबाट थप ४ लाख ९५ हजार जनसंख्या लाभान्वित हुने बजेटमा घोषणा मात्रै नयाँ देखिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।