स्वर्णिम वाग्ले भन्छन् : पार्टीलाई संगठन र कार्यकर्ताको महसुस भयो

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यकता महसुस भएको बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘ तनहुँमै देख्यौं, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौं । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोलटोलमा, वडा वडामा साथीहरु नै भएनन् ।’
संगठन र कार्यकर्ता नहुँदा समुदायसम्म पुग्न कठिन भएको अनुभव उनको छ । यसको पछिल्लो उदाहरण तनहुँ र इलामको उपनिर्वाचन भएको बताए ।
तर, पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको उनको भनाइ छ ।
उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए । उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको दाबी पनि गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।