Main

जैमिनीधामलाई पर्यटकीय क्षेत्रको रुपमा प्रचार गरिँदै

२ वैशाख, गण्डकी । नेपालको नक्सासँग मिल्दोजुल्दो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने जैमिनी नगरपालिकालाई धार्मिक पर्यटनसँग जोड्न लागेको नगरपालिकाले जनाएको छ ।

प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको यही ठाउँकै कारण पालिकाको नाम पनि जैमिनी रहन गएको मान्यता छ ।

वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताए ।

जैमिनी धामको प्राचीन महत्व रहेर पनि त्यसलाई उजागर गर्न नसकिएको वास्तविकतामा नगरपालिकाले पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा यसको प्रवर्द्धन र विकास गर्न खोजेको उपप्रमुख शर्माले बताए ।

‘हामी जैमिनी धामसँगै नगरपालिका क्षेत्रभित्रका धार्मिक पर्यटकीय गन्तव्यलाई संरक्षण एवं प्रवर्द्धन गरी पर्यटकीयस्थलका रूपमा विकास गर्न विभिन्न निकायसँग समन्वय गरिरहेका छौं’, उनले भने,

‘धेरै सम्भावनायुक्त यहाँका धार्मिक पर्यटकीय गन्तव्य प्रवर्द्धनको अभावमा पछि परिरहेका छन् ।’

जैमिनी नगरभित्र जैमिनी धामसँगै थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तीढुंगा , पुतलीगरा छिस्ती, कमलजैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवीमन्दिर चोखेक, सतिमन्दिर जैदी, रिठेडाँडा, कोट, मर्नास टापु, नागढुङ्गा र जनै मन्तर्नी पोखरी, कालापातल राङखानी, खानी निर्मित सुरुङ, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायतको संरक्षण र संवर्द्धनलाई नीति तथा कार्यक्रममा समेटेर संरक्षण र विकासको प्रयास गरिएको नगरपालिकाले जनाएको छ ।

प्राचीनकालदेखि नै जैमिनीधाममा प्रत्येक वर्षको माघेसंक्रान्तिमा परम्परागत मेला लाग्ने गर्दथ्यो । तर, २०४८ सालपछि भने मेलालाई माथि कुश्मिशेरा बजारमा गरिँदै आइएको स्थानीय बताउँछन् । माघेसंक्रान्ति एवं बाला चतुर्दशीमा टाढाटाढाबाट कालीगण्डकी स्नानका साथै सद्बीज छर्न भक्तजन आउने गरेका छन् ।

धाममा रहेका शंखेशिला, शिव मन्दिरले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको वडाध्यक्ष गोपाल पौडेलले बताए । फुक्दा शंखजस्तै बज्ने ठूलो शिलालाई स्थानीयले प्राचीनकालदेखि नै शंखेशिलाका रुपमा लिँदै आएका उनको भनाइ छ ।

विसं १८५२ को शिलालेख, विसं १९९० मा स्थापित जैमिनीश्वर महादेव मन्दिरलगायत प्राचिन संरचनाले यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई उजागर गरेको उनले जानकारी दिए ।

नगरपालिकाभित्रकै २ हजार ४ सय मिटर उचाइमा रहेको गाजाको दह यहाँको अर्का महत्त्वपूर्ण गन्तव्य हो । उक्त दहमा बर्सेनि ठूलो एकादशीमा मेला लाग्ने र तोरण टाँग्ने प्रचलन छ ।

नगरपालिकाले यहाँको मौलिकताको जगेर्ना गर्ने उद्देश्यका साथ ऐतिहासिक पोखरीको संरक्षणसँगै चौतारा एवं वरपिपलको संरक्षणलाई पनि जोड दिँदै आएको उपप्रमुख शर्माले जानकारी दिए ।

ऐतिहासिक धरोधरको संरक्षण र प्रवर्द्धनले यहाँको पर्यटकीय विकासलाई थप उजागर गर्ने उनको भनाइ छ । सांस्कृतिक मौलिकता जोगाउनका लागि यहाँका रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटुआदिको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ ।

प्राचीनकालदेखि चल्दै आएका जैमिनी मेला, माघेसंक्रान्ति मेला, गाजादह मेला, वैकुण्ठ चर्तुदर्शी मेला, ठूलो एकादशी मेला, हाडीकोट मेला र पुरानो गाउँ मेला आदिलाई संरक्षणसँगै उचित व्यवस्थापन गरी निरन्तरता दिँदै आइएको छ ।

पर्यटन प्रवर्द्धनका लागि चासो

जैमिनी क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न पालिकाले पहल गरिरहेका अवस्थामा यसको प्रवर्द्धन र विकासलाई पर्यटनसम्बद्ध संघसंस्थाले पनि जोड दिएका छन् ।

जैमिनी क्षेत्रकै प्रवर्द्धनमा जोड दिँदै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) ले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा हालै गन्तव्य पहिचान एवं प्रवर्द्धनका लागि जैमिनी क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

‘गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रमका साथ पर्यटनसम्बद्ध व्यवसायी, सञ्चारकर्मीको सहभागितामा जैमिनीधामलगायत आसपासका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन गरेका छौं’, उनले भने, ‘सम्भावनायुक्त यहाँका गन्तव्यलाई पर्यटनसँग जोड्नु आवश्यक छ ।’

पोखरा पर्यटन राजधानी घोषणा भइसकेका अवस्थामा आसपासका गन्तव्यलाई समेट्नु जरुरी रहेको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button