Main

स्वाबलम्बन लघुवित्तको निष्क्रिय कर्जामा सुधार

१२ वैशाख, काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा सामान्य घटेको छ भने निष्क्रिय कर्जामा सुधार देखिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.३५ प्रतिशतले कमी हो । खुद ब्याज र कमिसन आम्दानी घट्दा कम्पनीको नाफामा असर परेको देखिन्छ । लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा अहिले १ अर्ब २ करोडमा खुम्चिएको छ ।

लघुवित्तको लोन लस प्रोभिजन गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४४ करोड ७६ लाख रुपैयाँ रहेकोमा अहिले ३८ करोड ५७ लाखमा झरेको छ । वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४३ पैसाबाट ११ रुपैयाँ २ पैसामा झरेको छ । चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ११ करोड ५७ लाख रुपैयाँ छ ।

लघुवित्तले निष्क्रिय कर्जामा सुधार गरेको छ । कुल कर्जामा यस्तो कर्जा ८.६२ प्रतिशत छ, गत आवको यस अवधिमा ९.०१ प्रतिशत थियो । आधार दर १४.५२ प्रतिशत छ भने स्प्रेड दर ६.३७ प्रतिशत छ । कम्पनीको हाल बजार मूल्य प्रतिकित्ता ७३३ रुपैयाँ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button