स्वास्थ्यमन्त्रीमा केनेडी जुनियर नियुक्ति गर्ने ट्रम्पको निर्णयको किन भइरहेको छ विरोध ?
३० कात्तिक, काठमाडौं । अमेरिकाको स्वास्थ्यमन्त्रीमा रोबर्ट एफ केनेडी जुनियरलाई नियुक्त गर्ने डोनाल्ड ट्रम्पको निर्णयको विरोध हुन थालेको छ । केनेडी कोभिड भ्याक्सिनको विरुद्धमा आफूले राख्दै आएको अडानका लागि परिचित छन्।
बीबीसीका अनुसार क्यालिफोर्नियाको डेमोक्रेटिक पार्टीका प्रतिनिधि रोबर्ट गार्सियाले स्वास्थ्यमन्त्रीमा केनेडीको नियुक्ति निकै खराब भएको भन्दै यस निर्णयले जनताको जीवनसँग खेलबाड भइरहेको चेतावनी दिएका छन् ।
‘केनेडी जुनियर एक खोपविरोधी षड्यन्त्रकारी हुन्, उनले हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली र खोप वितरण प्रणालीलाई बर्बाद पार्नेछन्’, गार्सियाले भनेका छन् ।
त्यसैगरी अमेरिकी पब्लिक हेल्थ एसोसिएसनले पनि रोबर्ट एफ केनेडी जुनियरको नियुक्तिको विरोध गरेको छ। एसोसिएसनले डोनाल्ड ट्रम्पको यो नियुक्तिको कडा विरोध गरेको बीबीसीले जनाएको छ।
एसोसिएसनका कार्यकारी निर्देशक जर्जस सी बेन्जामिनले भनेका छन्, ‘उनी प्रशिक्षण, व्यवस्थापन र स्वभावका कारण यो पदका लागि योग्य छैनन्, उनी यस पदका लागि पूर्ण रूपमा गलत व्यक्ति हुन्।’
उनले अगाडि थपेका छन्, ‘उनी काम गर्ने अनुभव नभएका व्यक्ति हुन्। यस क्षेत्रमा र देशको स्वास्थ्यमा उनले धेरै नोक्सान गरिसकेका छन् ।’
राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएका ट्रम्पले आफ्नो टिम विस्तार गर्दै लगिरहेका छन् । यस क्रममा उनले आफ्ना प्रशंसक र सहयोगीहरूलाई विभिन्न पदमा नियुक्ति दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।