हङकङ सिक्सेसका लागि नेपाली क्रिकेटरको तयारी (तस्बीरहरु)

१२ कात्तिक, काठमाडौं । हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ सिक्सेस २०२४ क्रिकेटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ ।
त्यसका लागि नेपाली टोलीले कीर्तिपुरस्थित टीयू मेदानमा अभ्यास गरिरहेको छ ।
नेपालको सिनियर टिम अहिले लिग टु खेल्ने अमेरिका रहेकोले नेपालमा उपलब्ध भएका मध्ये राम्रो खेलाडी छनोट गर्दै हङकङ सिक्सेसका लागि नेपाली टोली तयार गरिएको छ ।
राष्ट्रिय टिमबाट खेलिसकका सन्दिप जोराको कप्तानीमा क्यानले ७ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
टोलीमा जोरासँगै राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान छन् । यस्तै नारायण जोशी र दीपेन्द्र रावत पनि टिममा छन् । जोरा ब्याटर हुन् भने लोकेश बम विकेट किपर ब्याटर हुन् । विवेक, प्रतिश, रासिद र नारायण अलराउण्डर हुन् । दीपेन्द्र स्पीनर हुन् ।
यस्तै नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने क्यानले जनाएको छ ।
प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपालका लागि यो प्रतियोगिता राम्रो अवसर भएको बताए । ‘हाम्रो लागि यो राम्रो अवसर हो । राष्ट्रिय टिम व्यस्त रहेकोले क्षमता भएङ्का अन्य खेलाडीहरु राखेका छौँ । यो किसिमको प्लेटफर्मले खेलाडी र प्रशिक्षकलाई पनि हौसला मिल्छ । खेलाडीको लागि अझ बढी अवसर हो ।’ प्रशिक्षक ज्ञानेन्द्रले भने ।
यस्तै उनले त्यहाँ खेल्न मात्र नभई जित्नकै लागि जाने भन्दै राम्रो प्रदर्शन गर्ने बताए । ‘हामीले सिक्सेससँग मिल्दो जुल्दो खेलाडीमै केन्द्रित गरेका छौँ । किनभने हामी सहभागि मात्र नभएर जित्ने लक्ष्य पनि राख्नुपर्छ । कम्बिनेसन पनि त्यही अनुसार राखेका छौँ ।’
प्रशिक्षक मल्लले ८ टेष्ट राष्ट्र समेत सहभागि भएकोले उनीहरुसँग खेल्दा भेट्दा धेरै कुरा सिक्ने अवसर हुने बताए । ‘ टेष्ट राष्ट्रका अनुभी खेलाडीहरु हुन्छन् । सानो-सानो कुराहरुले वा अनुभवी खेलाडीसँगको कुराकानीले पनि परिवर्तन ल्याउन सक्छ । त्यो अवसरलाई कसरी राम्रोसँग सदुपयोग गर्ने भन्ने हाम्रो हातमा छ ।’
प्रतियोगिता नेपाल, अष्ट्रेलिया र इंग्ल्याण्डसँगै समूह बी मा छ । नेपालले पहिलो खेल नोभेम्बर १ मा इंगल्याण्ड तथा दोस्रो खेल नोभेम्बर २ मा अष्ट्रेलियासँग खेल्नेछ ।
प्रतियोगिता ८ टेष्ट टोलीका टिमसहित कूल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३-३ टोली छन् । यस प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् ।
एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन्।
सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०१७ मा आयोजना भएको थियो । जसमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउँदै पाँचौ पटक उपाधि जितेको थियो ।
तस्बिरहरु : चन्द्रबहादुर आले
– यस समाचारको श्रोत : Online Khabar हो ।