हलिउड डेब्यु गर्दै तब्बु, चर्चित सिरिज ‘ड्युन : प्रोफेसी’मा अनुबन्धित

काठमाडौं । बलिउड अभिनेत्री तब्बुले हलिउडमा डेब्यु गर्ने निश्चित भएको छ । भेराइटी म्यागजिनका अनुसार भारतीय सुपरस्टार हलिउडको चर्चित सिरिज ‘ड्युन : प्रोफेसी’मा अनुबन्धित भएकी छन् ।
यो सिरिजमा तब्बु ‘सिस्टर फ्रान्सेस्को’ को भूमिकामा देखिनेछिन् । यो एक विज्ञान कथाको श्रृंखला हो । यो श्रृंखलालाई ब्रायन हर्बर्ट र केविन जेले लेखेका हुन् । एन्डरसनले लेखेको कथा ‘सिस्टरहुड अफ ड्युन’बाट यो सिरिज प्रेरित छ । ‘ड्युन : प्रोफेसी’ श्रृंखला सन् २०१९ मा सुरु भएको थियो ।
यो सिरिजको नाम पहिला ‘ड्युन : द सिस्टरहुड’ थियो । यो सिरिजले मानवजातिको भविष्यलाई खतरामा पार्ने शक्तिसँग लड्ने र बेने गेसेरिट भनेर चिनिने समुदाय स्थापना गर्ने दुई हर्कोनेन बहिनीको कथा बताउँछ ।
तब्बु यो फिल्ममा एमिली वाटसन, ओलिभिया विलियम्स, ट्राभिस फिमेल, जोहडी मे, मार्क स्ट्रङ, साराह–सोफी बोस्निना, जोश ह्युस्टन, क्लो ली, जेड अनौकासँग देखिनेछिन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले तब्बुलाई हलिउड डेब्युका लागि बधाई दिइरहेका छन् । ‘यो भन्दा राम्रो खबर अर्को हुन सक्दैन,’ एक प्रयोगकर्ता लेखेका छन्, ‘भारतका लागि यो खबर राम्रो हो ।’ सामाजिक सञ्जालमा तब्बुका प्रशंसक खुसी छन् । सबैले उनलाई उनको आगामी प्रोजेक्टका लागि बधाई दिइरहेका छन् ।
तब्बु हालै रिलिज भएको फिल्म ‘क्रू’ मा देखिएकी थिइन् । यो फिल्ममा उनीसँगै करिना कपुर खान र कृति सेनन पनि देखिएका थिए । यसबाहेक उनी छिट्टै ‘और मे कहाँ दम था’ मा देखिनेछिन् । यसमा तब्बुले मोहिनी सिंह चौधरीको भूमिका निर्वाह गर्नेछिन् ।
यसअघि तब्बुले ‘लाइफ अफ पाइ’, ‘द नेमसेक’ र ‘अ सुटेबल ब्वाय’ जस्ता विदेशी प्रोजेक्टमा काम गरिसकेकी छिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।