हाइड्रोपावरमा सबैभन्दा महँगो कुथेली बुकरीको नाफा घट्यो
२८ कात्तिक, काठमाडौं । सेयर बजारमा हाइड्रोपावर सेक्टरको सबैभन्दा महँगो कम्पनी कुथेली बुकरी स्मल हाइड्रोपावरको नाफा घटेको छ ।
मंगलबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ९९ रुपैयाँ छ । यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ७.७ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ५० लाख ५९ हजार रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी र अन्य आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । बिक्री आम्दानी पहिले १ करोड १० लाख रुपैयाँ रहेकोमा अहिले १ करोड ४ लाख रुपैयाँ छ । अन्य आम्दानी पहिले १५ लाख ३३ हजार रुपैयाँ रहेकोमा अहिले शून्य छ ।
यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५२ पैसा छ । कम्पनीको सूचीकृत सेयर संख्या ज्यादै न्यून रहेकाले बजार मूल्य उच्च छ । बजारमा कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता मात्रै सेयर सूचीकृत छ । यसमध्ये सर्वसाधारण सेयर २ लाख ४३ हजार ७३५ मात्रै छ । बाँकी संस्थापक सेयरमा ‘लकइन’ अवधि कायम छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।