हामी ‘ग्लोबल्ली’ गएर मात्र नपुग्ने रहेछ, घरेलु बजार बनाउनुपर्छ : नवीन सुब्बा

काठमाडौं । फिल्म निर्देशक नवीन सुब्बाले अन्तर्राष्ट्रिय बजार र फेस्टिभलभन्दा अघि घरेलु बजारको खोजी र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न भूमिका खेलेका निर्देशकको यो अभिव्यक्तिभित्र गम्भीर अर्थ र सन्देश लुकेको छ ।
सुब्बाको फिल्म ‘खाङ्ग्री’ले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको यात्राको थालनी गरेको थियो । उनी निर्देशित पछिल्लो फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको थियो । यो फिल्मको गति रोकिएको छैन र यसैसाता हुने बेइजिङ फिल्म फेस्टिभलका लागि उनी चीन प्रस्थान गर्दैछन् ।
बुधबार काठमाडौंमा आयोजित फिल्म ‘मनसरा’को पत्रकार सम्मेलनमा सुब्बाले यी कुरा बताएका हुन् । ‘घरेलु उद्योगको मुहार बनाउन सक्यौं भने हामी विश्वव्यापी जान सक्छौं । हामी ग्लोबल्ली मात्रै गएर पुग्दैन रहेछ । यो मेरो अनुभूति हो,’ मनसराको ट्रेलरपछि बोल्दै उनले भने, ‘उपेन्द्रजीले जे काम गर्नुभएको छ, त्यो एकदमै स्तुत्य छ । उपेन्द्रजीको लास्ट काम पनि हेर्या छु, यो काम पनि हेर्या छु ।’
‘मनसरा’को ट्रेलरले दुईवटा सभ्यतालाई उठाएर गरेको प्रस्तुति सकारात्मक रहेको सुब्बाले बताए । ‘उहाँले यो छोटो ट्रेलरमा लिम्बूहरुको पूर्ण दर्शन नै राख्नुभएको छ,’ उनले भने ।
सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ नेपालमा जेठ १८ गतेबाट प्रदर्शन हुँदैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।