Main

गोरखाका गोरख घले बेल्जियमको एन्डरलेक्टमा आवद्ध, नेपालबाट खेल्ने चाहना

३ असार, काठमाडौं । नेपाली मूलका गोरख घले बेल्जियन प्रो क्लब आरएससी एन्डरलेक्टमा आबद्ध भएका छन् । १६ वर्षीय गोरखले बेल्जियन क्लब रोयल स्पोर्टिङ क्लब एन्डरलेक्टसँग व्यावसायिक सम्झौता गरेका छन् ।

उनी सन् २००८ को जेनेरेसनमा व्यवसायिक सम्झौता गर्ने चौथो खेलाडी भएको क्लबले जनाएको छ । यसअघि टेरी भान डे भने, नाथन डे क्याट र अमिने माहरोउगले व्यावसायिक सम्झौता गरिसकेका छन् ।

बेल्जियमकै ठूलो क्लबमा व्यवसायिक सम्झौता गर्न पाउँदा खुशी लागेको गोरखले बताए । ‘यति ठूलो क्लबमा हस्ताक्षर गर्न पाउदा खुशी छु र एकदमै उत्साहित छु’, उनले भने । क्लबले जारी गरेको भिडियोमा गोरखले आफू अट्याकिङ मिडफिल्डमा खेल्ने बताएका छन् ।

सम्झौतापछि एन्डरलेक्टको एकेडेमी टिम आरएससीए निर्पिडले गोरखको भिडियो पोष्ट गर्दै ‘बर्न टु बल’ अर्थात बल खेल्नकै लागि जन्मिएको भनेको छ ।

गोरखका बुबा राम घलेले अहिले ३ वर्षका लागि क्लबसँग सम्झौता गरेको जानकारी दिए । ‘यसमा कस्तो गर्छ त्यसमा उसको भविष्य निर्भर रहन्छ’, उनले भने । इंग्लिस क्लब टोटनहमले पनि गोरखमा चासो देखाएको तर पढाइका कारण जान नपाएको रामले जानकारी दिए ।

बेल्जियममै जन्मेका उनी सानैदेखि फुटबल खेल्थे । एन्डरेलेक्टसँगको व्यवसायिक सम्झौतापछि युरोपको ठूलो लिगमा खेल्ने उनको सम्भावनाको ढोका खुलेको छ । अर्को वर्ष उनी यू-१८ टिममा समावेश हुने क्लबले जनाएको छ ।

व्यवसायिक सम्झौता गरेपछि खेलाडीलाई सिनियर टिममा पुग्न बाटो खुल्ने रामले बताए । ‘प्रोफेसनल कन्ट्रयाक्ट गरेपछि एउटा फाइदा हुन्छ । यो भनेको क्लबले लगानी गरेको हो । उनीहरुले जति राम्रो खेल्यो क्लबले कुनै पनि बेला फर्स्ट टिममा लैजान सक्छ’, उनले भने ।

गोरखले यसअघि एन्डरलेक्टको यू-१५ टिमबाट समेत खेलिसकेका छन् । त्यस्तै बेल्जियमको यू-१५ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।

दुवै खुट्टामा निपूर्ण गोरख

गोरखको सम्झौताको समाचार पोष्ट गर्दै क्लबले उनी प्रतिभाशाली खेलाडी भएको उल्लेख गरेको छ । ‘गोरख क्रिएटिभ र डाइनामिक मिडफिल्डर हुन् जसले विशेषगरी नम्बर ८ र नम्बर १० पोजिसनमा खेल्न सक्छ’, क्लबले आफ्नो विज्ञप्तिमा लेखेको छ । गोरख गोल गर्न र असिस्ट गर्नका लागि निर्णायक बन्न सक्छन् ।

गोरखमाथि नजर राख्नेहरुले उनको प्रतिभा यसअघि नै देखिसकेका छन् । उनले २०२४ को फ्युचर कपमा आफ्नो क्षमता देखाएका थिए । उनले नेदरल्याण्ड्सको आम्स्टर्डममा भएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलका लागि अवसर सिर्जना गरेका थिए ।

यस्तै समूह चरणमा पीएसजी विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आरएससीए एन्डरलेक्टका एकेडेमी डिरेक्टर मिकेल हेमेरसाम पनि गोरखको क्षमताबाट प्रभावित छन् । उनले गोरख दुवै खुट्टाले खेल्ने सक्ने खेलाडी भएको बताए ।

‘गोरख सेन्ट्रल मिडफिल्डर हुन् जो दुबै खुट्टाले राम्रो खेल्ने सक्छन् र अग्रपंक्तिमा धेरै क्षेत्रमा खेल्न सक्छन् । उनी एक त्यस्ता खेलाडी हुन् जसले आरएससीए डीएनएलाई मूर्त रूप दिन सक्छन् । उनले क्लबसँग सम्झौता गरेकामा हामी धेरै खुसी छौं’, मिकेलले भने ।

बेल्जियमको एन्तवर्पमा बस्ने गोरख दुई वर्षअघि आरएसी एन्डरलेक्टको एकेडेमी आरएसीसी निरपिडमा पुगेका थिए । त्यहाँ पनि घुलमिल हुन उनलाई गाह्रो भएन ।

नेपालबाट खेल्ने चाहना

गोरखका परिवारको घर गोरखाको मान्बु हो । गोरख भने बेल्जियममै जन्मिएका हुन् । गोरखका बुबा बेल्जियममा बस्न थालेको दुई दशक भन्दा बढी भइसकेको छ । यस्तै गोरखका आमाबिना घले पनि बेल्जियम गएको १८ वर्ष भइसकेको छ ।

उनीहरुको विवाह भने नेपालमै भएको बिना घलेले जानकारी दिइन् । ‘हामीले नेपालमै विवाह गरेर आएका हौँ । गोरख यतै बेल्जियममा जन्मिएको हो’, बिनाले भनेकी छन् ।

गोरखामा जन्मेको भएर उनको नाम पनि गोरख नै राखिएको छ । उनको जर्सीमा घले नाम लेखिएको छ ।

गोरखको चाहना भने नेपालको राष्ट्रिय टिमबाट खेल्ने रहेको उनकी आमा बिनाले जानकारी दिइन् । नेपाली मूलका धेरै युवा खेलाडीहरु अहिले युरोपका विभिन्न देशमा खेलिरहेका छन् ।

गोरखका बुबा रामले पनि अवसर पाएमा नेपालमा खेलाउने लक्ष्य रहेको सुनाए । ‘हामी जो जहाँ बसे पनि हुर्के पनि हामी नेपाली नै हौँ । भविष्यमा राम्रो होला भनेर केही समय विदेशमा छौँ । अहिले गोरखले यहाँ राम्रो खेलिरहेको छ । अरु पनि धेरै (नेपाली मूलका) बच्चाहरु युरोपमा खेलिरहेका छन्’, उनले भने ।

केही वर्षअघि स्पेनमा युथ फुटबल खेलेका आभास लामिछाने नेपालमा आएर लिग खेलेका थिए र पछि नेपालको राष्ट्रिय टिमबाट समेत खेले ।

पछिल्लो समय नेपाली खेलाडीहरु भविष्य सुनिश्चित गर्न विदेश जाने क्रम जारी छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) र सम्बन्धित निकायले विदेशमा रहेका नेपालका प्रतिभावान युवाहरुको पहिचान गरेर नेपालबाट खेल्ने वातावरण बनाउनुपर्ने विदेशमा रहेका नेपालीहरुको मत छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button