बाँसबारी जग्गा प्रकरण : सीआईबीले ३ महिनादेखि गरिरहेको थियो अनुसन्धान

१८ माघ, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनादेखि अनुसन्धान गरिरहेको पाइएको छ ।
१० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरिरहेको सीआईबी स्रोतले जनाएको छ । उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरु संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो ।
एक चरणको अनुसन्धान सकेपछि बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको छ ।
पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको सो जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ र त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । पक्राउ परेका चौधरी चाँदबाग रिजेन्सी प्रालिको सदस्य छन् ।
चाँदबाग रिजेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर पनि सीआईबीको नियन्त्रणमा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।