फिप्टिन्स रग्बी च्याम्पियनसिपको तयारी पूरा

४ फागुन, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा हुने फिप्टिन्स रग्बी च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन संघका महासचिव गोविन्द घिमिरेले च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी गराएको हो ।
फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिपमा तीन विभागीय टोली र गोर्खाली रग्बी क्लब गरी कूल चार टोलीको सहभागिता हुनेछ । प्रतियोगिताको यो पाँचौ संस्करण हो ।
यसअघिको चार संस्करणकको नाम लिग भएपनि यस पटक नाम परिवर्तन गर्दै च्याम्पियनसिप नाम राखेको संघका महासचिव घिमिरेले जानकारी दिए ।
च्याम्पियनसिपमा सहभागी चार टोलीले एकअर्कासँग लिगकै आधारमा खेल खेल्नेछन् । त्यसमा धेरै स्कोर गर्ने टिम अन्तिममा च्याम्पियन घोषणा हुनेछ ।
यसअघि भएको चारवटै संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।
फिप्टिन्स रग्बीलाई पनि अझै व्यवस्थित गर्दै अघि बढाउने लक्ष्यका साथ यस प्रतियोगिता आयोजना गरिएको महासचिव घिमिरेले जानकारी दिए ।
साविक विजेता आर्मी र गोर्खाली रग्बी क्लबले यसअघि पनि च्याम्पियनसिप खेलिसकेको छ भने पुलिस र एपीएफको टिम पहिलो पटक खेल्दैछ ।
यसै प्रतियोगिताबाट बंगलादेश र नेपालबीच हुने फिप्टिन्स रग्बी सिरिजका लागि राष्ट्रिय फिप्टिन्स रग्वी टिमको छनोट गरिने संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा सहभागी चारै टिमले विगत एक महिनादेखि तयारी गरिरहेका छन् । उनीहरुलाई नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक विजेलाथ सनले पनि आवश्यकता अनुसार प्रशिक्षण दिइरहेका छन् ।
यसै प्रतियोगिताबाट राष्ट्रिय टिम छनोट गरिने भएकोले पनि मुख्य प्रशिक्षकले सबै टिमका खेलाडी हेरिरहेको संघले जनाएको छ ।
वार्षिक कार्यक्रम अन्तर्गत रहेको दुई देशको सिरिज आगामी वैशाखमा गर्ने तयारी रहेको उनले जानकारी दिए ।
आर्मीका कप्तान कपिल सापकोटाले तयारीको समय थोरै भए पनि च्याम्पियन बन्ने लक्ष्यकै साथ खेल्ने बताए ।
उनले भने, ‘हामी अहिलेसम्मको चारै संस्करणको च्याम्पियन हौँ र यो पटक पनि उपाधि जित्ने लक्ष्य छ ।’
गोर्खाली रग्बी क्लबका कप्तान विक्रम पुरीले आफनो टिम सधैं उपाधिको दाबेदारको रुपमा पनि जित्न नसकेको भन्दै यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले भने, ‘हामी यो पटक जित्नकै लागि आएका छौं र जसरी पनि जित्नका लागि खेल्छौं ।’
दुई नयाँ टोली पुलिस र एपीएफले पनि पहिलो पटक फिप्टिन्स च्याम्पियन्सिप खेल्न लागेको र राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका छन् ।
पुलिसका कप्तान विनोदबहादुर शाही र एपीएफका कप्तान विराट श्रेष्ठले आफ्नो टिममा विभाग भित्र र बाहिरका खेलाडीको मिश्रण रहेको र शारीरिक रुपमा राम्रो रहेको बताए ।
प्रतियोगितामा सहभागी टिमले ५ विदेशी टिममा राख्न पाउनेछन् र एक सेटमा ३ विदेशी खेलाउने पाउने प्रावधान छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।