हेटौंडा सिमेन्टको तार चोरी गर्ने गिरोहका ३ जना पक्राउ
८ कात्तिक, हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट लाखौं मूल्यको बिजुलीको तार चोरी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । २३ असोज बिहान २ बजे हेटौंडा उपमहानगरपालिका–९ लामसुरेस्थित उद्योगबाट तार चोरी भएको थियो ।
प्रहरीको अनुसन्धानबाट उद्योगको तार चोरी योजनाबद्ध रुपमा एउटा समूहले गरेको खुलेको छ । १ कात्तिकमा प्रहरीमा तार चोरी भएको उजुरी परेको थियो । घटनाको हप्ता दिनपछि मात्रै प्रहरीले जानकारी पाएको थियो ।
प्रहरीले चोरीमा संलग्न भएको आरोपमा मनिराम थोकर, सन्तबहादुर तितुङ र चोरीको तार खरिद गर्ने कबाड व्यवसायी दिल खुशकुमार साहलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिका २२ वर्षीय मनिराम थोकरले फलामको धातु काट्न प्रयोग हुने हेक्सो ब्लेड खरिद गरी लगेको अनुसन्धानबाट खुलेपछि चोरीमा संलग्न गिरोहहरु नजिक पुग्न प्रहरीलाई सजिलो भएको थियो । प्रहरीले थोकरलाई ७ कात्तिकमा हार्डवयर पसलबाट पक्राउ गरेको छ ।
थोकरले १३ नम्बर वडाकै २८ वर्षीय सन्तबहादुर तितुङलगायत अन्य ५–७ जना व्यक्तिहरु मिलेर बिजुलीको तारहरु चोरी गरेको प्रहरीलाई बताएका थिए ।
उनीहरुले तार चोरेर उद्योग नजिकै प्लटिङ गरेको जग्गामा ल्याएर छिलि हेटौंडा–४, स्थित फरेष्ट्री गेट नजिकको कबाडी पसलमा बिक्री गरेको खुलेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।
उद्योगको पश्चिमतर्फको रोपवेदेखि क्रसरसम्म जाने ६ इञ्च र ४ इञ्चको बिजुलीको तामाको तारहरु काटेर चोरी भएको तथ्य प्रहरीले पत्ता लगाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
प्रहरीले घटनास्थल तथा उद्योगको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड र स्थानीयलाई अनुसन्धान गर्ने क्रममा चोरी भएका तारको बाहिरी खोल उद्योग नजिक प्लटिङ गरिएको जग्गामा फेला पारेपछि रहस्यमय घटनाको १५ दिनमा आरोपित पक्राउ परेका छन् ।
कबाड व्यवसायी भारत मोतिहारी जिल्ला चिरैया थाना वडा–७ बस्ने साह हुन् । आरोपित थोकर, तितुङ र साहलाई प्रहरीले चोरी तथा डाँका मुद्दा चलाउने भएको एसपी खड्काले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको उनले बताए ।
हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार उद्योगको सुरक्षाको जिम्मेवारी बज्र सेक्युरिटीले लिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।