१० औं राष्ट्रिय खेलकुद : सुर्खेतले बास दिन सक्ला खेलाडीलाई ?

४ असोज, काठमाडौं । १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुने कि नहुने अन्योल नै छ । कर्णाली प्रदेशको सुर्खेतमा २ मंसिरमा हुने तय भएको प्रतियोगिताका लागि संघीय सरकारले आवासमा प्रश्न उठाएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा चार हजार जनाको आवास व्यवस्था गर्नुपर्नेमा सुर्खेतको क्षमता एक हजार जना मात्र रहेको बताएका छन् ।
‘हाम्रो जानकारी अनुसार सुर्खेतमा एक हजार जनालाई आवासको सुविधा दिलाउने क्षमता छ । खेलाडी नै मात्रै साढे ४ हजार जना हुन्छन् । हामीले तीन वटा विभाग (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) लाई आफ्नो खेलाडी व्यवस्थापनका लागि भनेका छौं । तर उहाँहरुलाई पनि समय लाग्ने थाहा पाइएको छ’, उनले अनलाइनखबरसँग भने ।
खेलाडीलाई खानाको व्यवस्थापन सजिलै गर्न सकिने भए पनि सुत्ने व्यवस्था गर्न समय लाग्ने चौधरी बताउँछन् ।
कर्णाली प्रदेश खेलकुद परिषद भने आवासको समस्या समाधान गर्न सकिने बताउँछ । परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आफ्ना खेलाडी व्यवस्थापन गर्न लगाउन सकिन्छ ।
त्यस्तै कतिपय खेल भने प्रतियोगिता उद्घाटन गर्नुअघि नै खेलाउन सकिने सञ्ज्यालले बताए । केही प्रतियोगिता खेल पूर्वाधार र बसोबास सम्भव भएका सुर्खेत बाहिरका जिल्लामा सञ्चालन गर्न पनि सकिने उनको भनाइ छ । ‘तेस्रो उपाय स्थानीय सरकारको समन्वय र परिचालनमा सुर्खेतमा रहेका होमस्टे, स्थानीयका खाली घर र स्कुल–कलेजका होस्टेल व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिने’, उनी भन्छन् ।
कर्णाली प्रदेश खेलकुद परिषदले कात्तिक २७ देखिको तालिका सार्वजनिक गरेको छ । जसमा खेलकुद परिषदले सुर्खेतभित्र १७ खेल गराउँदै छ भने बाँकी ७ खेल सुर्खेत बाहिर खेलाउन सकिने उल्लेख छ । सुर्खेतमा हुने खेलका लागि खेलाडी, प्रशिक्षक र अफिसियल बस्न समस्या नहुने सञ्ज्यालको दाबी छ ।
युवा तथा खेलकुद मन्त्री चौधरी जसरी पनि तोकिएको समयमा नै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बताउँछन् । ‘यदि तोकिएको मितिमा भएन भने हामीले मौसमका कारण मंसिर अन्तिम, पुस र माघमा गर्न सक्ने हुँदैन । त्यसो हुँदा १० औं राष्ट्रिय खेलकुद फागुनमा हुने सम्भावना रहन्छ’, उनले भने ।
कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव सञ्ज्याल भने संघीय सरकार १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्ने चलखेलमा रहेको आरोप लगाउँछन् ।
‘कर्णालीमा अहिले आवासको समस्या देखाउनुहुन्छ भने फागुनमा अचानक होटलहरु थपिने त हुँदैन । आवास यत्ति नै हो । यो सबै खेलकुद पछि सार्ने मेलो हो’, उनले अनलाइनखबरसँग भने ।
राष्ट्रिय खेलकुदमा सधैं अन्योल
२०३८ सालमा पहिलो पटक सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता हरेक दुई वर्षमा हुने भनिए पनि हुन सकेको छैन ।
देशको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताले धेरै खेलाडीहरुलाई एकै पटक खेलकुद गतिविधिमा सहभागी गराउँछ । यसले खेलाडी र खेल क्षेत्रमा ठूलो उत्साह ल्याउँछ । तर विगतदेखि नै यो प्रतियोगिता समयमा हुन सकेको छैन ।
४३ वर्षमा ९ वटा मात्र प्रतियोगिता हुनुले देशभित्रको प्रमुख खेलकुद समारोह सरकारको प्राथमिकतामा नपरेको प्रष्ट हुन्छ । राखेपका पूर्व सदस्य सचिव रमेश सिलवाल १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राम्ररी अध्ययन नगरी तोकिएको बताउँछन् ।
‘१० औं राष्ट्रिय खेलकुद मंसिरमा आयोजना गर्नुमा राखेपको सदस्य सचिव र कर्णाली प्रदेशको सदस्य सचिवको कार्यावधिको कारण हो’, उनले भने ।
सिलवालले अगाडि भने, ‘हरेक तवरले मंसिर २ को मिति सम्भव हुने मिति थिएन । प्रदेशमा राष्ट्रिय खेलकुद गर्दा पूरै प्रदेशले उत्सव आएको महसुस गर्नुपर्छ । कर्णालीमा कतिपय जिल्लामा यातायातको सुविधा समेत छैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।