१० ग्राफमा नेपाली अर्थतन्त्र

२७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना अर्थतन्त्रका विभिन्न सूचकहरूको अद्यावधिक विवरण सार्वजनिक गर्छ । आइतवार राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकका आधारमा अनलाइनखबरले १० वटा ग्राफमा अर्थतन्त्रको चित्र प्रस्तुत गरेको छ :
१. आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमशः ८ प्रतिशत र साढे ७ प्रतिशत रहेको मूल्यवृद्धि चालु आवको ७ महिनामा ५ प्रतिशतमा झरेको छ ।
२. मुलुकको निर्यात व्यापारमा गत आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको संकुचन कायमै छ । तर, संकुचनको दर भने केही घटेको छ ।
३. निर्यात व्यापारकै प्रवृत्ति आयातमा पनि छ । यो सात महिनामा पनि आयात २.३ प्रतिशतले घटेकै छ ।
४. आयात निर्यातमा संकुचन आउँदा रेमिट्यान्सले भने छलाङ मारेको छ । गत आवको माघ मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा रेमिट्यान्स २२ प्रतिशतले बढेको छ ।
५. घट्दो आयात र बढ्दो रेमिट्यान्सको प्रभाव भुक्तानी सन्तुलनमा परेको छ । यो वर्षको सात महिनामै भुक्तानी सन्तुलन २ खर्ब ९८ अर्बले सकारात्मक बनेको छ ।
६. विदेशी विनिमय सञ्चिति पनि निरन्तर बढिरहेको छ । माघ मसान्तसम्म नेपालसँग १३ अर्ब ८९ करोड अमेरिकी डलरबराबरको विदेशी मुद्रा सञ्चिति छ, जसले १२ दशमलव ३ महिनाको वस्तु तथा आयात धान्न सक्छ ।
७. तर, विदेशी लगानीको यथार्थ प्राप्ति भने निराशाजनक छ । आव २०७८/७९ सम्म वार्षिक १९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रने गरेकोमा गत वर्षभरिमा ७ अर्ब ७७ करोड रुपैयाँ मात्रै भित्रियो भने चालु आवको सात महिनामा ५ अर्ब १९ करोड मात्रै आएको छ ।
८. भ्रमण र शिक्षामा नेपालीले विदेश लैजाने पैसा भने अस्वाभाविक रुपमा बढेको छ । गत वर्षको माघ मसान्तसम्म ६९ अर्ब ८९ करोड रुपैयाँ यो शीर्षकमा बाहिरिएकोमा यो वर्ष सोही अवधिमा १ खर्ब ५ अर्ब पुगेको छ ।
९. चालु आर्थिक वर्षमा बैंकहरूको ब्याजदर निरन्तर घटिरहेको छ । माघ मसान्तमा बाणिज्य बैंकहरूको कर्जाको औसत भारित ब्याजदर ११.०८ मा झरेको छ । यो कोभिडअघि अर्थात् २०७५/७६ को भन्दा पनि कम हो ।
१०. ब्याजदर घटे पनि कर्जा विस्तार सुस्त छ । माघ मसान्तसम्म निजी क्षेत्रमा जाने कर्जा जम्मा ५.४ प्रतिशत मात्रै विस्तार भएको छ । कोभिडको समयमा यो २६ प्रतिशतसम्मले बढेको थियो ।
ग्राफिक्सः अरुण देवकोटा/अनलाइनखबर
– यस समाचारको श्रोत : Online Khabar हो ।