१२ करोडको नलिञ्चोक हेलिपोर्ट २० दिनमै अलपत्र, पाइलटहरूले रोके उडान

२७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सेवा पूर्णरूपमा स्थानान्तरण गर्ने उद्देश्यले भक्तपुर नलिञ्चोकमा सञ्चालनमा आएको ‘हेलिपोर्ट’ २० दिनमै अलपत्र परेको छ ।
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ असारदेखि नलिञ्चोक हेलिपोर्ट सञ्चालनमा ल्याएको थियो ।
हेलिपोर्ट सञ्चालनमा आएयता फाट्टफुट्ट उडान भइरहेका थिए । तर, १० दिनपछि हेलिकप्टर उडाउने ४७ पाइलटहरूले नलिञ्चोक हेलिपोर्टमा उच्च उडान सुरक्षा जोखिम रहेकाले २७ असारदेखि कुनै पनि उडान नगर्ने लिखित जानकारी उड्डयन प्राधिकरणमा बुझाएका थिए ।
त्यसयता विरलै केही उडान भए पनि आज बिहीबार (२७ असार) देखि सबै निजी हेलिकप्टर सेवा प्रदायक कम्पनीका ती ४७ पाइलटले नलिञ्चोक हेलिपोर्टबाट कुनै पनि उडान–अवतरण गरेका छैनन् ।
‘विगतमा उड्डयन प्राधिकरणले उडान सुरक्षामा जोखिम नरहेको सैद्धान्तिक प्रतिवेदन बनाएको थियो,’ एक हेलिकप्टर क्याप्टेनले अनलाइनखबरसँग भने, ‘तर, उडाउने त हामी हो । उडान गर्न थालेपछि पो थाहा भयो नलिञ्चोक हेलिपोर्टमा कति धेरै उडान सुरक्षा जोखिम रहेछ भनेर ।’
ती पाइलटले १७ असारमा उड्डयन प्राधिकरणमा बुझाएको लिखित पत्रमा हेलिपोर्टको भौगोलिक अवस्थिति, वरिपरिको बाक्लो बस्ती, पूर्वाधारको पूर्णतयारी नहुनु, सुरक्षा संवेदनशीलतामा पर्याप्त ध्यान नदिइनु लगायत कारण उल्लेख गर्दै २७ असारदेखि उडान–अवतरण नगर्ने बताएका छन् ।
ती पाइलटका अनुुसार नलिञ्चोक हेलिपोर्टमा हवाई इन्धन (एयर टर्बाइन फ्युल) सुविधा, अग्नि नियन्त्रण उपकरण, कार्गो, यात्रु तथा सामान जाँच्ने स्क्यानर मेसिनलगायत केही पनि छैन ।
‘हेलिकप्टरमा हाल्ने इन्धन पनि हामी त्रिभुवन विमानस्थलबाट जर्किनमा बोकेर नलिञ्चोक हेलिपोर्टमा लगिरहेका थियौं,’ अर्का एक पाइलटले भने, ‘यतिविधि जोखिम मोलेर उडान गर्नुको तुक छैन ।’
यता, उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले नलिञ्चोक हेलिपोर्ट निर्माण गर्नुअघि तयार पारिएको ‘सेफ्टी रिस्क एसेसमेन्ट’ (एसआरए) मा उडान सुरक्षा जोखिम सूची बनाइएको छ । ठूला पहाड, अग्ला घर केही छन् भने सुरक्षा सावधानी अपनाउन सकिन्छ भनेर सबै उल्लेख छ ।
‘पाइलटहरूले नलिञ्चोक हेलिपोर्टबाट उडान–अवतरण नगर्ने भनेर लिखित जानकारी गराए पनि हामी उहाँहरूसँग यसबारे गम्भीर छलफल गरिरहेका छौं,’ ती अधिकारीले भने, ‘हेलिकप्टर उडाउने त उहाँहरूले नै हो, अब व्यवहारमा उडान सुरक्षा जोखिम छ भनेपछि हामी छलफल गरिरहेका छौं ।’
प्राधिकरणको पहिलो प्राथमिकता नै उडान सुरक्षा रहेको उनले बताए । नलिञ्चोक हेलिपोर्टमा अझै फ्लड लाइट, इन्धन ट्यांक, स्क्यानर मेसिन लगायत जडान गर्नै बाँकी रहेको र त्यसका लागि थप १० देखि १२ करोड रुपैयाँ खर्च लाग्ने उनको भनाइ छ ।
‘हेलिपोर्टमा उच्च जोखिमका कारण छन् भने सञ्चालन गर्न पनि हुँदैन,’ प्राधिकरणका अर्का एक उच्च अधिकारीले भने, ‘सुरक्षाको स्वकार्य तहसम्म छ भने नलिञ्चोक हेलिपोर्ट सञ्चालन योग्य छ भन्ने हाम्रो भनाइ हो ।’
उड्डयन प्राधिकरणले ११ करोड ९० लाख रुपैयाँ लगानीमा नलिञ्चोक हेलिपोर्ट साढे दुई वर्ष अवधिमा निर्माण सकेको हो । हेलिपोर्टले ३३ रोपनी क्षेत्रफल ओगटेको छ ।
उक्त जग्गा तत्कालीन हवाई विभागको नाममा थियो । विभाग खारेज भएर प्राधिकरण स्थापना भएपछि त्यो जग्गा पनि प्राधिकरणकै नाममा आएको थियो ।
हेलिपोर्टमा साना आकारका कुल १७ थान हेलिकप्टर पार्किङ गर्न मिल्छ । जसमा चार हेलिकप्टर एकैपटक उडान र अवतरण गर्न सक्ने क्षमता छ ।
त्रिभुवन विमानस्थलमा अबदेखि जहाजमात्र उडान–अवतरण गर्ने गरी हेलिकप्टर सेवा भक्तपुर नलिञ्चोकमा स्थानान्तरण गरिएको थियो । तर, सञ्चालनमा आएको २० दिनमै हेलिपोर्ट अलपत्र परेको हो ।
हेलिकप्टर सेवा स्थानान्तरण भएपछि त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थापनमा धेरै नै सहजता आउने विश्वास प्राधिकरणको थियो ।
त्रिभुवन विमानस्थल धावनमार्गको पूर्वपट्टि भागमा रहेको हेलिप्याडमा हाल जहाज राख्ने ‘ह्यांगर’ निर्माण भइरहेका कारण हेलिकप्टर सेवा नलिञ्चोकमा स्थानान्तरण गरिएको थियो ।
प्राधिकरणका अनुसार हेलिकप्टर सेवा प्रदायक कम्पनीका कम्तीमा एउटा हेलिकप्टर नलिञ्चोकमा राख्ने नीति लिइएको छ । नलिञ्चोक हेलिपोर्टको सुरक्षा नेपाल प्रहरी र नेपाली सेनाको जिम्मामा छ ।
हेलिपोर्टलाई आवश्यक ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) को काम भने त्रिभुवन विमानस्थल टावरबाट हुने गरेको थियो । नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण र पार्किङ शुल्क भने त्रिभुवन विमानस्थल सरह नै तोकिएको छ ।
‘नलिञ्चोक हेलिपोर्टमा सुरक्षा जोखिम छ भने हेलिकप्टर चलाउन पनि हुँदैन,’ प्राधिकरणका ती अधिकारीले भने, ‘हामी चलाउनू पनि भन्दैनौं । सबै हेलिकप्टर पाइलटसँग यसबारे गम्भीर छलफल भइरहेको छ । सायद, दुई–चार दिनमै उचित निष्कर्ष आउँछ होला ।’
यहीबीच प्राधिकरणले उडान सुरक्षा विभागका उपनिर्देशक प्रभाकर मल्लिकको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरेको छ । समितिमा हेलिकप्टर पाइलटहरूलाई पनि राखिएको छ ।
उक्त समितिले नलिञ्चोक हेलिपोर्टमा विद्यमान् उडान सुरक्षा जोखिम सम्बन्धी अध्ययन गरेर चाँडै प्रतिवेदन बुझाउने छ । समितिले हेलिपोर्ट निर्माण गर्नुअघि लिइएको सुरक्षा मूल्यांकन र अबको निकासबारे अध्ययन गर्ने छ ।
त्रिभुवन विमानस्थलमा रहेको हेलिप्याडको क्षमता भने एकैपटक ४० वटा हेलिकप्टर पार्किङ गर्ने मिल्ने खालको थियो ।
हाल नेपालमा एक दर्जन हेलिकप्टर सेवा प्रदायक कम्पनीले साढे तीन दर्जभन्दा बढी हेलिकप्टर सञ्चालन गरिरहेका छन् ।
हाल एयर डाइनेस्टी हेली सर्भिस, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर, फिसटेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकप्टर सर्भिसेस, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुस्ताङ हेलिकप्टर, प्रभु हेलिकप्टर्स, श्री एयरलाइन्स र सिम्रिक एयरले चार्टर उडान गरिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।