१२ वर्षअघि गुरिल्ला अर्थमन्त्री भन्थे, तर राम्रै गरेँ : पुन

२३ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले यसअघि २०६८ सालमा आफूले पहिलोपटक यो मन्त्रालय सम्हाल्दा मानिसहरुले ‘गुरिल्ला’ अर्थमन्त्री भन्ने गरेको स्मरण गरेका छन् ।
बुधवार साँझ मन्त्रालयमा कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।’१२ वर्षपछि संयोगले फेरि म यहाँ आएँ । २०६८ सालमा आउदा मलाई गुरिल्ला अर्थमन्त्री भन्थे, मैले अर्थतन्त्र पढेको थिइनँ तर त्यसलाई मैले नराम्रो मानिन,’ उनले भने ‘लो प्रोफाइलमा रहेर काम गरेँ, बुझ्न थालेँ र अर्थतन्त्रलाई राम्रै गरेँ भन्ने लाग्छ ।’
अहिले आउँदा त्यसबेलाको भन्दा धेरै जिम्मेवारीको बोझले बोझले थिच्न थालेको अनुभव गरेको उनले बताए । अब भने आफूलाई बुझेर-पर्खेर बस्ने अवस्था नरहेको उनले बताए ।
पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने पनि बताएका छन् । अहिले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसैमा आफूलाई केन्द्रित गर्ने बताए ।‘म पहिलोपटक आउँदा पनि समस्या थियो । त्यसबेला राम्रो सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ, मेरो प्रयास त्यही रहन्छ,’ उनले भने ।
बिगतको अनुभवका आधारमा सक्दो राम्रो गर्ने प्रयास गर्ने उनको भनाइ थियो । ‘असल कामलाई निरन्तरता दिन्छु, विगतमा विकासे मन्त्रालयमा काम गरेको थिएँ,’ उनले भने, ‘ खर्च गर्ने क्षमता बढाउनु छ । काम गर्दै र समीक्षा गर्दै कमजोरी सुधारमा लाग्छौ ।’
जनताको अपेक्षा र दुई छिमेकीको विकास हेर्दा आफूहरुलाई डेलिभरी दिनैपर्ने दबाब रहेको र त्यसलाई आफूले सकारात्मक चुनाैतीका रुपमा लिएको उनले बताए ।
सेयर बजार तथा घरजग्गामा सुधार गर्नुपर्ने आफूले महसुस गरेको पनि उनले बताए । ‘सेयरमा ६० लाख मानिसको कुरा जोडिएको छ, त्यसलाई हेर्छु, घरजग्गा थोरै चलायमान भएको छ, अझै गर्नु छ,’ उनले भने ।
सहकारीका बचतकर्ता डराउनु नपर्ने पनि उनले बताए । ‘सहकारीमा समस्या देखिएको छ, अलग्गै नियामक निकायको कुरा आएको छ, राज्यको दायित्व समस्या समाधान गर्ने हो, यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्छौं,’ उनले भने ।
सो अवसरमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले अर्थमन्त्रीलाई कर्मचारीको पूर्ण सहयोग हुने बताए । ‘अर्थतन्त्र धेरै कुरामा सुधारोन्मुख रहे पनि केही दबाबमा छ,’ उनले भने ।
पुँजीगत खर्च र राजस्व परिचालन समस्या रहेको उनले बताए । नयाँ अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्रका समस्या समाधान हुने विश्वास पनि उनले व्यक्त गरे ।
मन्त्री पुनले कार्यभार सम्हालेको अवसरमा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले टिमलाई विश्वास गर्ने पुनको कार्यशैलीले समन्वयमा राम्रो हुने बताए । ‘अर्थतन्त्रको वास्तविक क्षेत्रमा केही समस्या छ, बाह्य र बैकिङ क्षेत्रमा समस्या छैन,’ गभर्नर अधिकारीले भने, ‘बाहिर आएजस्तो बैङ्कहरुमा समस्या छैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।