Main

२५ नोभेम्बरदेखि ‘द ब्रिटिस कलेज’ मा करियर फेस्ट आयोजना हुँदै

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट–२०२४ हुने भएको छ ।

ग्रोथ सेलर्सको सहकार्यमा २५ र २६ नोभेम्बरमा थाथापलीस्थित कलेज परिसरमा करियर फेस्टको आयोजना हुन लागेको हो ।

देशभरिका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुनेछन् ।

कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थीमात्रै नभई सर्वसाधारण र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याई रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको कलेजले जनाएको छ ।

५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहने फेस्ट, रोजगारदाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिका लागि फलदायी हुने कम्पनीको विश्वास छ ।

फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको बिभिन्न पक्षहरूको बारेमा जानकारी प्रदान गर्नेछन् ।

साथै, सो कम्पनीहरूले प्रत्यक्ष अन्तरर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् ।

एउटै मञ्चबाट दुवै पक्षले फाइदा लिन सक्ने फेस्ट सरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ ।

ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्नका लागि यो पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

‘रोजगारीको अवसर पाउन कठिन भइरहेकोले नेपालबाट क्षमतावान् व्यक्तिहरू पलायन भइरहेको छन् । करियर फेस्ट २०२४ ले स्थानीय प्रतिभा पहिचान गर्दै रोजगारीको अवसर चाहिएका व्यक्तिहरूलाई नेपालमै सन्तोषजनक काम प्रदान गर्नको लागि आयोजना गरिएको हो,’ प्रिन्सिपल म्याकक्रुडेनले भने, ‘यस्ता खालका कार्यक्रमहरूले प्रतिभा बाहिरिने प्रवृत्तिलाई रोक्न मद्दत पुर्याउन सक्छ, जसले नेपालको आर्थिक विकासलाई मजबुत बनाउन र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्नेछ ।’

ग्रोथ सेलर्सका संस्थापक, मोहन ओझाले ब्रिटिस कलेजले आयोजना गर्न लागेको फेस्ट रोजगारी खोज्नेहरूलाई फलदायी हुने विश्वास व्यक्त गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button