Main

बागमतीलाई हराउँदै लालितपुर–११ को विजयी सुरुवात

२९ वैशाख, काठमाडौं । ललितपुर–११ ले ललितपुर वुमन्स चाम्पियन्ससिप २०२४ को पहिलो खेलमा बागमती प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । ५३ रनको लक्ष्य पछ्याएका ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पूजा महतो ३० बलमा ३ चौकासहित २३ रनमा नट आउट रहिन् ।

लक्ष्मी चौधरी ७ बलमा ३ चौकासहित १२, किरण कुँवर र सरस्वती घर्तीमगर ६-६ रनमा आउट भए । बागमतीको खुसी डंगोलले १ मात्रै विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती प्रदेश १४.२ ओभरमा ५२ रनमा अल आउट भएको थियो । बागमतीकी कप्तान अश्मिना कर्माचार्यले २६ बलमा ३ चौकासहित सर्वाधिक २० रन बनाएकी थिइन् । कञ्चन श्रेष्ठ ११, हेलिसा गुरुङ ५ र खुसी डंगोलले ६ रन बनाइन् ।

चोभार एण्डबाट आएकी कृतिका मरासिनीले १२ औं ओभरको चौथो बलमा खुसीलाई बोल्ड, पाँचौं बलमा विपिशा शाहीलाई क्याच र छैटौं बलमा मनिषा उपाध्यायलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । १४ औं ओभरको पहिलो बलमा अश्मिना कर्माचार्यलाई बोल्ड गर्दै लगातार चार बलमा चार विकेट पूरा गरेकी थिइन् ।

ललितपुर मेयर्स ११ की कृतिका मरासिनीले २ ओभरमा ४ रन खर्चेर ४ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । पूजा महतोले ३.२ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । आइतबार पहिलो खेलमा ललितपुर ११ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कोशी र एपीएफ भिड्नेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button