३४ हजार १२८ वटा बर्गर खाएर विश्व कीर्तिमान

दुनियाँमा विश्व कीर्तिमान राख्ने तौरतरिका आ-आफ्नै हुन्छन् । मानिसहरुले अरुले गर्न नसकेका काम गरेर गिनिज बुकमा नाम लेखाउँछन् । एकजना अमेरिकी पुरुषले ३४ हजार १२८ वटा बर्गर सिध्याएर कीर्तिमान कायम गरेका छन् ।
ती खन्चुवाको नाम डोनाल्ड गोर्स्के हो । ७० वर्षीय डोनाल्डले गत वर्ष सन् २०२३ मा थप ७२८ वटा बर्गर खाए । योसँगै उनले हालसम्ममा खाएका बिग म्याक बर्गरको संख्या ३४ हजार १२८ पुगेको हो । सबैभन्दा बढी बर्गर खाने कीर्तिमान यसअघि पनि निरन्तर उनकै नाममा थियो र पछिल्लो पटक उनले आफ्नै कीर्तिमान भंग गरेका हुन् ।
बर्गर खाने उनको यात्रा करिब ५२ वर्ष अघिबाट सुरु भएको थियो । गिनिज वर्ल्ड रेकर्डसका अुनसार उनको कीर्तिमान बर्गर खाने यात्राको सुरुआत सन् १९७२ को मे १७ मा भएको थियो ।
उनी भन्छन्- मैले सायद जीवनभर बर्गर खाइरहनेछु ।
त्यसदिन पछि उनले आफूले खाएका प्रत्येक बर्गरको हिसाब राख्न थाले । उनले खाएका बर्गरका बक्स कारमा राख्दथे र पहिलो दिनबाटै गणना सुरु गर्दथे ।
अमेरिकाको विस्कन्सिनमा बस्ने डोनाल्ड एकजना अवकास प्राप्त्र जेल अधिकारी हुन् । उनले दशकौंदेखि आफ्नो बर्गरको बाकस तथा रसिद सुरक्षित राखेका छन् ।
डोनाल्डले बर्गर खाएर पहिलो विश्व कीर्तिमान सन् १९९९ मा कायम गरेका थिए । सुरु सुरुमा उनले दैनिक ९ वटासम्म बर्गर खान्थे । त्यसपछि उनले घटाएर २ वटामा झारे । त्यसमध्ये एउटा दिउसोको लञ्चमा र अर्को रातको डिनरमा खान्थे ।
गिनिज वर्ल्ड रेकर्डसका अनुसार ताजा बर्गर खरिद गर्नका लागि डोनाल्ड दिनहुँ म्याकडोनाल्ड्स जान्थे । तर जागिरबाट अवकाश भएपछि उनी हप्तामा दुईपटक मात्रै म्याकडोनाल्डस्मा गएर एकैचोटी धेरै बर्गर किनेर ल्याउँछन् । त्यसरी ल्याएकामध्ये एउटा तुरुन्तै खान्छन् र बाँकी घरमा राख्छन् ।
भोक लाग्दा उनले आलु चिप्स, फ्रुटबार तथा आइसक्रिम पनि खान्छन् । उनले सन् १९८४ मा बर्गर किंग ह्वापर खाने प्रयास पनि गरे । तर उनलाई खासै रुचेन र अन्ततः आफूलाई मनपर्ने बिग म्याकमै जोडिए । उनी भन्छन्, ‘ जब मलाई कुनै चिज मन पर्छ, म हरक्षण त्यससँगै जोडिइरहन्छु।’
इतिधेरै बर्गर खाँदा उनलाई विभिन्न स्वास्थ्य समस्या देखिएकेा हुनसक्ने अनुमान गर्न सकिन्छ । तर डोनाल्डका अनुसार उनलाई बर्गरका कारण हालसम्म कुनै पनि स्वास्थ्य समस्या भएको छैन । उनी दैनिक ६ माइलसम्म हिंड्ने गरेका छन् र स्वास्थ्यलाई ध्यानमा राख्दै फ्रेन्च फ्राइज पनि खान छाडेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।