Main

४१ खेल संघका कार्यक्रम समेटेर राखेपले ल्यायो क्यालेण्डर

२२ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । मंगलबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा राखेपले क्यालेण्डर सार्वजनिक गरेको हो ।

राखेपले ४१ खेल संघको कार्यक्रम समेटर नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । क्यालेण्डर सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले चुनौतीपूर्ण काम भए पनि सुरुवात भएको बताए ।

‘हामी विगतमा पनि हाम्रो क्यालेण्डर र कार्यक्रम सार्वजनिक गरेका थियौं तर कमी थियो । यसपटक कार्यक्रमहरु पारदर्शी बनाउन सफल भएका छौं’, उनले भने ।

मन्त्री श्रेष्ठले क्यालेण्डर सार्वजनिक नगर्ने संघहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यदि संघहरुले कार्यक्रम आयोजना नगर्ने हो भने म अहिले नै सर्तक गर्न चाहन्छु हामीले अप्रिय निर्णय लिनुपर्ने हुन्छ’, उनले भने ।

खेलकुद कार्यक्रमलाई डिजिटलाइज गरेर देशभरि कहिले कुन खेल हुँदैछ भन्ने जानकारी खेलप्रेमी र सर्वसाधारणलाई गराउने उनले बताए ।

मन्त्री श्रेष्ठले क्यालेण्डर बनाउनुलाई नयाँ कामको थालनी भन्दै प्रशंसा गरेका छन् । राखेपले दशौं राष्ट्रिय खेलकुद र ओलम्पिक खेलको पनि तथ्यांक राख्ने बताएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button