६२० किलोमिटर रेन्जको ‘स्काइवेल ईभी’ कस्तो छ ? (भिडियो रिभ्यु)

२३ वैशाख, काठमाडौं । नेपालमा सबैभन्दा धेरै ‘माइलेज’ दिने दाबी गरिएको ‘स्काइवेल’ ब्रान्डको विद्युतीय कारले बिस्तारै बजार लिन थालेको छ ।
नेपालका लागि स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्सले भक्तपुर राधेराधेस्थित शोरुमबाट स्काइवेलको ‘ईटी ५’ मोडेलको विद्युतीय कार सार्वजनिक गरिसकेको छ ।
जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार स्काइवेल प्रिमियम नेपालमा अहिले भएका ईभीमध्ये सबैभन्दा धेरै माइलेज दिने सवारी हो ।
‘सिंगल चार्जमा ६ सय २० किलोमिटर दुरी तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने छ,’ गेलाल भन्छन् ।
स्काइवेल ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) हुने स्काइवेलको उत्पादन हो ।
गेलालका अनुसार १ सय ५० किलोवाट मोटर क्यापासिटी, सेफ्टीमा ५ स्टार रेटिङ प्राप्त छ । यस्तै अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषता छन् । यस्तै दुईवटा लक्जरी फोल्डेबल सिट पनि यो गाडीमा रहेको विशेषता हो ।
स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको कम्पनीले जनाएको छ ।
यसको उच्च गति १ सय ६० किलोमिटर प्रतिघण्टा भन्दा बढीे छ । स्काइवेल ईटी ५ को मूल्य नेपाली बजारमा १ करोड ९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रबन्ध निर्देशक गेलालका अनुसार स्काइवेलका ईभी जर्मनी, इजरायल, टर्की, रुसलगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।
जी मोटर्सले २०७४ सालबाट नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । जी मोटर्सका काठमाडौं र इटहरीमा आठभन्दा बढी शोरुम छ ।
तस्वीर/भिडियो : शंकर गिरी
– यस समाचारको श्रोत : Online Khabar हो ।