६४ जिल्ला राजमार्गबाट सरकारलाई दुग्ध किसानको खबरदारी

१७ फागुन, काठमाडौं । बिहीबार देशभरि दुग्ध किसानले आन्दोलन गरेका छन् । दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै केन्द्रीय दूध उत्पादक सहकारी संघको आह्वानमा ६४ जिल्लाका दूध सहकारी संघले आन्दोलन गरेका हुन् ।
केन्द्रीय संघका अनुसार ६४ जिल्लामा सहकारी संघ आह्वानमा आन्दोलन भए पनि देशभरि दूध किसानको समस्या भएकाले अन्य जिल्ला राजमार्गमा प्रदर्शन गरेर आन्दोलन गरेका हुन् ।
केन्द्रीय संघले ७ फागुनमा घोषणा भएको कार्यक्रम अनुसार बिहीबार देशभरि दूध किसानले राजमार्गबाट सरकारको विरोध गरेका हुन् ।
केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरका अनुसार बिहान १० बजेदेखि १२ देशका राजमार्गमा चक्काजाम भएको थियो ।
‘हामीले सबै जिल्ला दुग्ध उत्पादक सहकारी संघ/संस्थामार्फत आन्दोलन गर्दै सरकारलाई दबाब दिएका हौं । किसानका समस्या समाधान गर्न सरकारले नसुनेपछि आन्दोलन गर्नुपरेको हो,’ अध्यक्ष कुँवरले अनलाइनखबरसँग भने ।
यसअघि संघले १३ फागुनमा राजनीतिक दलका शीर्ष नेता र प्रमुख सचेतकलाई मागपत्र बुझाएको थियो । यस्तै १४ र १५ मा ७७ जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको थियो । संघले २१ फागुनमा केन्द्रीकृत वृहत् किसान आन्दोलन गर्ने भन्दै काठमाडौं माइतीघरमा भेला हुने जनाएको छ ।
दुग्ध उत्पादक किसानले धनकुटा हिले बजारमा चक्काजाम गरेका थिए । उनीहरूले कोशी राजमार्गमा २ घण्टा चक्काजाम गराए । किसानले रौतहट चपुर, बारा निजगढमा पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरे ।
यस्तै बागमती प्रदेश राजधानी हेटौंडा मुख्य सडकमा र्यालीसहित आन्दोलन गरेर प्रदेशका सहकारी मन्त्रालय अगाडि कोणसभा गरे । राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघ हुँदै उनीहरूले आन्दोलन गरे । मकवानपुरका किसानले त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग २ घण्टा अवरुद्ध पारे ।
यस्तै काभ्रेका किसानले अरनिको राजमार्ग अवरुद्ध पारे । बनेपा चारदोबाटोमा चक्काजाम गरिएको काभ्रे दुग्ध उत्पादक सहकारी संघ सल्लाहकार लिलाराज नेपालले बताए ।
पूर्वी नवलपरासीका किसानले पनि कावासोतीमा दूध पोखेर पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरे ।
कैलाली अत्तरियामा दुग्ध उत्पादक किसान तथा नेपाल किसान महासंघले सडकमा दूध पोखेर चक्काजाम गरे ।
संघ अध्यक्ष अमरबहादुर कुँवरले देशभरि चक्काजाम गरे पनि सबै स्थानमा शान्तिपूर्ण आन्दोलन भएको बताए ।
‘पूर्वका एक दुई जिल्लामा प्रहरीले हस्तक्षेप गर्न खोजे पनि सामान्य ढंगको छलफलपछि शान्त भएको थियो । देशभरि शान्तिपूर्ण आन्दोलन भए । कतिपय स्थानमा किसानले दूध पोखे, कतिपय ठाउँमा बटुवालाई खुवाए, सहभागीले दिए,’ उनले अनलाइनखबरसँग भने ।
७ अर्ब भुक्तानी बाँकी
दुग्ध उत्पादक सहकारी संघ केन्द्रीय अध्यक्ष कुँवरका अनुसार देशभरि गरेर १ हजार ८ सय ५७ दुग्ध उत्पादन सहकारी छन् ।
‘सहकारीले किसानको दूध किनेर डीडीसी, डेरी उद्योगहरूलाई दिएको हुन्छ तर त्यसरी दिएको दूधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । करिब ७ अर्ब रुपैयाँ भुक्तानी हुन सकेको छैन,’ कुँवरले भने, ‘किसानले घरमा पालेको गाईभैंसीलाई ढुटो, चोकर, घाँस खुवाउन नसक्ने अवस्था आइसकेको छ । त्यही भएर आन्दोलन भइरहेको हो ।’
कुँवरका अनुसार डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन र दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई भुक्तानी दिन बाँकी छ ।
‘हामीसँग किनेको दूधको उत्पादन बिक्री नभएको भन्दै किसानलाई भुक्तानी नदिँदा भइरहेको समस्यामा सरकारको ध्यानाकर्षण गराउन आन्दोलन गरेका हौं,’ कुँवरले भने ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कायकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले फरक–फरक ठाउँको भुक्तानी माग फरक हुँदा यति नै रकम दिन बाँकी भन्ने यकिन भन्न सकिने अवस्था छैन ।
‘किसान, दुग्ध सहकारीले ७ अर्ब भुक्तानी दिन बाँकी छ भन्छन् तर हामीले सरोकारवालसँग छलफल गर्दा ५ अर्ब जति भुक्तानी रहेको अनुमान गरेका छौं,’ यादवले अनलाइनखबरसँग भने ।
नेपाल डेरी एसोसिएनका अनुसार अहिले मुलुकमा दैनिक ३३ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये २७ लाख लिटर खपत हुन्छ भने ५ लाख लिटर बढी दूधको दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्ने हुन्छ । दुग्ध विकास बोर्डका अनुसार ३० लाख किसान दूध उत्पादनमा संग्लन छन् ।
किन भएन भुक्तानी ?
नेपाल डेरी एसोसिएनले दूध उत्पादन क्षेत्रमा कहिल्यै नदेखिएको र नभोगेको समस्या उत्पन्न भएको जनाएको छ ।
‘दूध उत्पादन र दुग्धजन्य खाद्य पदार्थको स्टक पहिलोपल्ट यति ठूलो समस्याका रूपमा देखिएको हो,’ एसोसिएन अध्यक्ष प्रह्लाद घिमिरे भन्छन्, ‘हाल ५ अर्बभन्दा धेरैको सामान स्टक रहेका कारण डेरीले किसानलाई पैसा दिन नसकेको हो ।’
डीडीसी महाप्रबन्धक सञ्जीवकुमार झाका अनुसार बजारमा दूध उपभोक्ता घटेकाले किसानको रकम भुक्तानीमा समस्या रहेको छ ।
‘डीडीसीको मात्रै करिब १ अर्ब १० करोड मूल्य बराबरको उत्पादन स्टक भएर बसेको छ । हामीले किसानसँग किनेको दूधको परिकार बनाएर बजारमा बिक्री नहुँदा हाम्रो पूँजी त्यहीँ रोकिएको छ,’ महाप्रबन्ध झाले भने, ‘जसका कारण किसानले भुक्तानी नपाएका हुन् । बिस्तारै बजारको सिजन वैशाखदेखि सुरु हुने भएकाले खपतसँगै पूँजी आउँदा किसानले भुक्तानी पाउनेछन् ।’
के हो मुख्य माग ?
७ फागुनदेखि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका किसानले दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने मुख्य माग राखेका छन् ।
किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध पदार्थ खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग पनि संघको छ । त्यस्तै भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न माग गरेको छ ।
खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न सरकारसँग माग गरेका छन् । संगठनहरूले बिक्री नभएको दूधलाई पाउडर बनाइ देशलाई ‘मिल्क होलिडे’ हुनबाट सरकारले रोक्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।
त्यस्तै नेपाली सेना, नेपाल प्रहरी लगायत निकायहरुले अनिवार्य खरिद गर्नुपर्ने, खेलाडीको डाइटमा दूध समावेश गर्नुपर्ने लगायत माग छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।