Main

७ वर्षपछि मानव बेचबिखनको कसुरमा कसरी पक्राउ परे गाउँपालिका अध्यक्ष नुर्वु ?

२९ चैत, काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु घले भनिने नुर्बु स्याङबो घले अहिले मानव बेचबिखन अनुसन्धान ब्यूरोको हिरासतमा छन् ।

काठमाडौंको बबरमहलबाट घलेलाई बुधबार पक्राउ गरी ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान समेत अघि बढाएको छ ।

मानव बेचबिखन तथा ओसार पसारको कसुरमा अहिले पक्राउ परेका गाउँपालिका अध्यक्ष घलेविरुद्ध भने ७ वर्षअघि नै उजुरी परेको खुलेको छ ।

घलेविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पुर्‍याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ७ वर्ष पहिले साविक महानगरीय प्रहरी परिसर (हाल जिल्ला प्रहरी परिसर) काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा ७ वर्षपछि ब्यूरोको टोली घलेलाई पक्राउ गरेको हो ।

‘ब्यूरो गठन हुनुभन्दा पहिला नै पीडित महिलाले काठमाडौं परिसरमा जाहेरी दिएकी रहिछन् । ब्यूरो गठन भएपछि उक्त जाहेरी यता आयो । पुराना फाइल सल्टाउने क्रममा खोजी गर्दा नुर्वु फेला परेका हुन्।’ ब्यूरोका एसपी ज्ञानेन्द्र फुयालले अनलाइनखबरसँग भने ।

पूराना पेन्डिङ फाइलहरु फर्स्योट गर्ने योजना अनुसार नसुल्झिएका केशहरुको फाइललाई अहिले ब्यूरोले केन्द्रमा राखेर अनुसन्धान गरेको र सोही अनुसार उनी पक्राउ परेका ब्यूरोले जनाएको छ । फरार नरहेका गाउँपालिका अध्यक्ष नुर्वुविरुद्ध ९ वर्ष पहिले नै जाहेरी आएको भएपनि अहिलेसम्म पक्राउ नपर्नुको कारणबारे ब्यूरोले केही खुलाएको छैन ।

नुर्वुविरुद्ध जाहेरी परेको भेटिएपछि केही दिन अघिमात्रै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गाउँपालिका अध्यक्ष नुर्वुविरुद्ध के छ आरोप ?

२०७३ सालमा एक महिलालाई नुर्वुले श्रीलंकासम्म पुर्‍याएर बन्धक बनाएको आरोप लागेको छ। मासिक २८ हजार कमाई हुने भन्दै एक महिलालाई नुर्वुले कतार पठाउने भन्दै श्रीलंका पठाएर बन्धक बनाएको आरोप लागेको एसपी फुयालले बताए ।

कतार जानका लागि भन्दै नुर्वुले आफ्नै खर्चमा ती महिलाको राहदानी समेत बनाई दिएको पाइएको प्रहरीको दाबी छ । आर्थिक अवस्था कमजोर भएकी महिलालाई नेपालबाट स्थलमार्ग हुँदै भारतको नयाँ दिल्ली पुर्‍याइएको थियो । दिल्लीबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बो पुर्‍याइएको थियो । कोलम्बोमा बुद्ध दर्शनका लागि जान लागेको भन्नु भनेर ती महिलालाई सिकाइएको थियो ।

कोलम्बो पुर्‍याएपछि श्रीलंकन मुलका एजेन्टले राहदानी लगायतका कागजात नियन्त्रण लिएर ती महिलालाई बन्धक बनाएको आरोप नुर्वुमाथि लागेको छ । राम्रोसँग खान बस्न समेत नदिई कुटपिट गर्दै यातना दिएको अवस्थामा नृपाल प्रहरी र विभिन्न संघ–संस्थाको सहयोगमा ती महिला केही नेपाल फर्किएकी थिइन् ।

नेपाल फर्किएपछि उनले २०७३ सालमै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीको ७ वर्षपछि प्रहरीले गाउँपालिका अध्यक्ष नुर्वुलाई पक्राउ मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button