Main

८ पाइलटको तलब बढाउन हजारौं यात्रुले किन पाउने सास्ती ?

१० मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सम्भवतः नेपालमा एकमात्र यस्तो सरकारी संस्था हो, जहाँ सबै कुरा ‘जायज’ हुन्छ ।

यहाँ काम गर्ने उच्च पददेखि कार्यालय सहयोगीसम्म सबैलाई काम छाडेर माग राख्न, धर्ना बस्न, आन्दोलन गर्न र अझै भन्नुपर्दा राजनीति गर्न विल्कुल छुट छ ।

अझ यस मानेमा निगमका जहाज उडाउने पाइलटहरू बढी फुक्काफाल छन् । निगमका पाइलटहरूको आ–आफ्नै गुट, उपगुट छ । कुनै एउटा वरिष्ठ क्याप्टेनले एउटा गुटको नेतृत्व गरिरहेको हुन्छ भने अर्को क्याप्टेनले अर्कै गुटको ।

त्यही गुट, उपगुटभित्र पाइलटहरू रमाइरहेका हुन्छन् । तर, तिनका रमाइलोपछि उत्पन्न दुःखले विनाकारण हजारौं यात्रुको बिचल्ली हुने गर्छ, अनाहकमा सास्ती खानुपर्ने हुन्छ ।

यसको पछिल्लो उदाहरण हो, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेको दुई ठूला आकार (वाइड बडी) जहाज उडाउने क्याप्टेनहरूको ‘आन्दोलन’ ।

२ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका वाइड बडी उडाउने जम्मा ८ जना पाइलटले आन्दोलनका नाममा व्यवस्थापनलाई अप्ठेरोमा पार्दै ‘धम्क्याएपछि’ निगमका अन्तर्राष्ट्रिय उडान केही दिनदेखि अस्तव्यस्त हुन पुगेको छ ।

निगमसँग रहेका अन्तर्राष्ट्रिय उडान गर्ने १ सय ५७ सिट क्षमतायुक्त दुइटा न्यारो बडी (ए३२०–२००) र दुइटा वाइड बडी जहाज उडाउन ४३ जना पाइलट छन् ।

तीमध्ये पछिल्लो पटक जम्मा ८ जनाले जहाज उडाउन छाडेर माग तेस्र्याएपछि नेपालबाट उड्नुपर्ने र विभिन्न विदेशी गन्तव्यबाट नेपाल आउनुपर्ने हजारौं यात्रु सम्बद्ध विमानस्थलमै घण्टौं अलपत्र परिरहेका छन् ।

निगमले हाल काठमाडौंबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलुरु, मलेसियाको क्वालालम्पुर थाइल्यान्डको बैंकक, जापानको नारिता, हङकङ, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई र साउदी अरबको दमाम उडान गरिरहेको छ ।

माग पूरा नभएपछि ती पाइलटले ‘बिरामी बिदा’, ‘आकस्मिक काम बिदा’ भन्दै शनिबारबाट जहाज उडाउन जान छाडेका थिए ।

जो आन्दोलन गरिरहेका छन्, ती सबै न्यारो र वाइड बडी जहाजका वरिष्ठ क्याप्टेनहरू हुन् ।

वाइड बडी जहाजका वरिष्ठ क्याप्टेनहरू भोगेन्द्र कठायत, सञ्जय पौडेल, सजल कुइँकेल, प्रशान्त श्रेष्ठ र अश्विन खड्का तथा न्यारो बडीका वरिष्ठ क्याप्टेनहरू अरबिन्दराज पहाडी, नरबहादुर विश्वकर्मा र लालबहादुर थकालीको ‘एक सूत्रीय आन्दोलन’ ले हजारौं यात्रुले दुःख पाइरहेका हुन् ।

खासमा यो आन्दोलनमा अर्का वरिष्ठ क्याप्टेन राजेश कुशवाहको पनि समर्थन छ । तर, उड्डयन नियम उल्लंघन गरेका कारण कुशवाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनादेखि जहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ गरेको छ ।

कसरी सुरु भयो पाइलटको आन्दोलन ?

खासमा निगममा अन्तर्राष्ट्रिय उडान गरिरहेका करिब चार दर्जन पाइलटले व्यवस्थापन समक्ष गत कात्तिक दोस्रो साता विभिन्न माग राखेका थिए । त्यसपछि व्यवस्थापन र पाइलटबीच वार्ता, छलफल हुँदै कुरा सकारात्मक मोडमा पुगेको थियो ।

निगममा कार्यरत सबै पाइलटको सेवा सुविधा करारमा कार्यरत सरह हुनुपर्ने, निगमले पाइलटका लागि तोकेको बन्ड रकम १ करोडबाट घटाएर ३० लाखमा झार्नुपर्ने (विगतमा ३० लाख नै थियो) लगायत माग उनीहरूको थियो ।

व्यवस्थापनसँग वार्ता गरेपछि पाइलटहरूको ‘फ्लाइङ आवर’ (उडान भत्ता) बढाउने निर्णय भएर निगम सञ्चालक समितिले अनुमोद गरेपछि तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगिएको थियो ।

पर्यटन मन्त्रालयले पनि त्यसमा सहमति जनाउँदै थप सदरका लागि अर्थ मन्त्रालय पठाइदियो । फाइल अहिले अर्थमा रोकिन पुगेको छ ।

किन बिग्रियो कुरो ?

यी सबै गतिविधि हुन्जेल सबै पाइलटले मागपत्रमा गरेको हस्ताक्षरको मसी सुकेको छैन । तर, यही बीच एक्कासि बाँकी ३५ पाइलटलाई ‘बाइपास’ गर्दै ती आठ वरिष्ठ क्याप्टेनले ‘आफूहरूको मात्र सेवा सुविधा बढ्नुपर्ने, अरूको मतलब छैन’ भन्ने तरिकामा अगाडि बढेपछि कुरा बिग्रिन पुग्यो ।

आठ जनाले सबै माग एकलौटी गरेपछि बिच्किएका ३५ पाइलट भने नियमित उडानमा फर्किसकेका छन् ।

‘निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन डाइरेक्टर क्याप्टेन दिपुराज ज्वार्चनले वार्तामा बोलाउँदा पनि उनीहरू एजेन्डा बाहिरको माग राखेर जान मानेका छैनन्,’ एकतर्फी आन्दोलन त्यागेका एक क्याप्टेनले अनलाइनखबरसँग भने, ‘यो सरासर गलत हो, उनीहरूको एकतर्फी मागमा हाम्रो ऐक्यबद्धता छैन, त्यही भएर हामी नियमित उडानमा फर्किएका हौं ।’

आन्दोलनरत पाइलटहरू ‘अब अर्थमन्त्री बाहेक अरूसँग वार्ता गर्दैनौं’ भन्दै हिँडिरहेको अर्का एक क्याप्टेनले बताए ।

‘माग एकातिर अनि आन्दोलन अर्कातिर भएको छ,’ ती क्याप्टेनले भने, ‘यसरी आठ जनाले मात्र माग पूरा गर्ने आन्दोलन एकलौटी गर्छन् भन्ने थाहा पाएको भए हामी मागपत्रमा हस्ताक्षर नै गर्ने थिएनौं ।’

करारमा कार्यरत पाइलटहरूले आफूहरूको भन्दा दोब्बर सेवा सुविधा पाइरहेको भन्दै ती आठ पाइलटले उनीहरूको जति नै सेवा सुविधा हुनुपर्ने एकतर्फी माग गरिरहेका छन् ।

कति छ निगमका पाइलटको सेवा सुविधा ?

निगममा अन्तर्राष्ट्रिय जहाज उडाउने पाइलटले तलब, ग्यारेन्टी आवर भत्ता, खाना भत्ता, अन्य विभिन्न भत्ता गरी कर कटाएर मासिक साढे ५ लाखदेखि ६ लाख रुपैयाँ बुझ्ने गरेका छन् ।

वाइड र न्यारो बडी दुवैका क्याप्टेनको समान सेवा सुविधा रहेको छ । उनीहरू सबै ९ तहमा कार्यरत छन् ।

तर, करारमा कार्यरत वरिष्ठ क्याप्टेनहरूले तलब, भत्ता सबै जोडेर कर कट्टा गरी मासिक न्यूनतम १० लाख रुपैयाँ बुझ्ने गरेका छन् । हाल करारमा कार्यरत वरिष्ठ क्याप्टेनमा विजय लामा र अमृत महर्जनले वाइड बडी जहाज उडाउँछन् भने प्रदीप राजभण्डारीले न्यारो बडी जहाज उडाउँछन् ।

निगममा ५८ वर्ष उमेर पूरा भएपछि पाइलटले जहाज उडाउन पाउँदैनन् । तर, पुनः उनीहरूलाई आवश्यकता अनुसार व्यवस्थापनले करारमा जहाज उडाउन दिने गरेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार शारीरिक रूपमा स्वस्थ पाइलटले ६५ वर्षको उमेरसम्म जहाज उडाउन पाउँछ ।

निगममा ठूला जहाज उडाउने पाइलट कति छन् ?

वायुसेवा निगममा हाल अन्तर्राष्ट्रिय उडान गर्ने पाइलट संख्या ४३ छ । वाइड बडी जहाज उडाउन क्याप्टेन ११ र को–पाइलट ८ गरी १९ जना छन् । त्यस्तै न्यारो बडी जहाज उडाउन क्याप्टेन १२ र को–पाइलट १२ गरी २४ जना छन् ।

निगम व्यवस्थापन के भन्छ ?

वायुसेवा निगमका कामु अपरेसन डाइरेक्टर वरिष्ठ क्याप्टेन दीपुराज ज्वार्चनले पाइलटहरूको आन्दोलनका कारण उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको बताएका छन् ।

‘यस विषयलाई व्यवस्थापनले गम्भीर रूपमा लिएको छ,’ ज्वार्चनले जारी गरेको विज्ञप्तिमा छ, ‘निगमलाई पर्ने आर्थिक लगायत सम्पूर्ण नोक्सानीका सम्बन्धमा नियम अनुसार हुनेछ । सबै पाइलटलाई आ–आफ्नो तालिका अनुसार उडान सञ्चालन गर्न सूचित गरिएको छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button